३१ आश्विन २०८३, शनिबार

राजनीतिक खिचातानीले मुलुक गलत दिशातर्फ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ चैत । प्रमुख राजनीतिक दलभित्रको आन्तरिक खिचातानीले मुलुक गलत दिशातर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ। सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन्।

सर्वेक्षणमा सातै प्रदेश, विभिन्न उमेर समूह र जातजातिसहित पाँच हजार ८२ जना सहभागी थिए। सर्वेक्षणमा सहभागीमध्ये २२ दशमलब पाँच प्रतिशतले मुलुक सही वा गलत कुनै पनि दिशामा अघि नबढेको बताएका छन्। त्यस्तै २१ दशमलब ९ प्रतिशतले मुलुक सही दिशामा अघि बढिरहेको मत जाहेर गरेका छन्। ११ दशमलब तीन प्रतिशतले भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

कर्णाली प्रदेशबाट मत सर्वेक्षणमा सहभागीमध्ये ५३ दशमलव ६ प्रतिशतले मुलुक गलत दिशातर्फ गइरहेको बताएका छन्। लुम्बिनी प्रदेशबाट सहभागीमध्ये २७ दशमलब ४ प्रतिशतले मुलुक सही दिशातर्फ गइरहेको मत जाहेर गरेका छन्। देश गलत दिशातर्फ गइरहेको छ भन्नेमा पहाडी ब्राह्मणहरूको मत सबैभन्दा बढी छ।

५५ प्रतिशत पहाडी ब्राह्मणले देश गलत दिशातर्फ गएको दाबी गरेका छन्। सर्वेक्षणमा सहभागी तराई/मधेसका जनजातिमध्ये ३० प्रतिशतले मात्र मुलुक गलत दिशामा गइरहेको बताएका छन्। सर्वेक्षणमा उच्च शिक्षा हासिल गरिरहेकालाई पनि सहभागी गराइएको थियो।

यो समूहका सहभागीमध्ये ६१ दशमलब १ प्रतिशतले मुलुक गलत दिशातर्फ गएको मत जाहेर गरेका छन् भने १८ दशमलब १ प्रतिशतले मुलुक सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दाबी गरेका छन्। उमेर समूहका हिसाबले ४५ देखि ५९ वर्षसम्मका सहभागीमध्ये ४६ प्रतिशतले मुलुक गलत दिशातर्फ र २१ दशमलब २ प्रतिशतले सकारात्मक दिशातर्फ गइरहेको बताएका छन्।

देश गलत दिशातर्फ जानुको कारणबारे गरिएको सर्वेक्षणमा सहभागीमध्ये ४९ दशमलब ३ प्रतिशतले राजनीतिक दलभित्रको खिचातानीलाई मुख्य कारण भएको उल्लेख गरेका छन्। त्यस्तै राजनीतिक अस्थिरतालाई कारण मान्ने सहभागीको संख्या ३६ दशमलब ८ प्रतिशत छ। कमजोर नेतृत्वका कारण मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको भन्नेचाहिँ २७ दशमलव ४ प्रतिशत छन्।

त्यस्तै भ्रष्टाचारलाई कारण मान्ने २३ दशमलब ४ प्रतिशत, गलत नीतिलाई कारक मान्ने २० दशमलब ६ प्रतिशत, सरकारको कमजोर कार्यक्षमतालाई कारक मान्ने १३ दशमलब एक प्रतिशत छन्। सहभागीमध्ये १२ दशमलब ७ प्रतिशतले नेतृत्वबाट अपेक्षाअनुसारको काम नहुँदा मुलुक गलत दिशातर्फ उन्मुख भएको मत जाहेर गरेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।