३१ आश्विन २०८३, शनिबार

वर्षमै भत्कियो दोलखा–सिँगटी सडकः ७२ करोड लगानी व्यर्थ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाेलखा, ११ चैत । सरकारले ७२ करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक एक वर्ष नहुँदै भत्किएको छ। सडक विभागले २०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो।

सडक निर्माण ठेक्का पाएको स्वच्छन्द निर्माण सेवाले गत वर्ष कालोपत्रे गरेर डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको थियो। तर हस्तान्तरणको वर्षदिन नपुग्दै सडकको कालोपत्रे तहसनहस हुने गरी भत्किएको छ।

यो सडकले जिल्लाको उत्तरी भूभागलाई सदरमुकामसँग जोड्छ। अहिले कालोपत्रे गरिएका प्रायः सबै मोडमा खाल्डा परेका छन्। दोलखा बजारदेखि सिँगटीसम्मका एक सयभन्दा बढी ठाउँमा ठूलासाना खाल्डा परेका छन्। एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तरबारे आशंका उब्जेको छ।

स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्कँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी रहने छैन। दोलखा बजारको डिलबाट उकालो चढेपछि चार्थली हुँदै राम्पासम्म पुग्दा सडकका कतिपय स्थानमा फराकिला खाल्डा देखिन्छन्। यस्तै कुथली, क्षमावती, सुन्द्रावती, सुनखानीलगायत स्थानमा पनि कालोपत्रे उप्किएर खाल्डा परेका छन्।

२० वर्षअघि तत्कालीन जिल्ला विकास समितिले यो सडकको ट्र्याक खनेको थियो। पछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले करिब एक अर्ब रूपैयाँ खर्च गरेर ग्राभेल गरेको थियो। भूकम्पपछि आएको दाताको सहयोगअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सरकारले यो सडक कालोपत्रे गराएको थियो। रमेश खतिवडाले नागरिक दैनिकमा समाचार लेखेका छन् ।