३१ आश्विन २०८३, शनिबार

१२ हजार नेपाली कोरिया जान पाएनन्

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । कालीकोट, रास्कोट–१ का २५ वर्षीय अनन्त आचार्यले ५ वर्षको मिहिनेतपछि सन् २०१९ मा दक्षिण कोरिया जान नाम निकाले । कडा प्रतिस्पर्धा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि उनी फुरुङ्ग थिए । उड्ने दिन कुर्न थाले । तर दुई वर्ष हुँदा पनि न कोरिया जान पाएका छन्, न कहिले जाने टुंगो नै छ । ‘अत्यास नै लागिसक्यो, जानै पो नपाइने हो कि !’ उनले भने ।

काठमाडौं आएर भाषा सिक्दा र पटक–पटक परीक्षा दिँदा करिब ५ लाख रुपैयाँ खर्च गरिसके । सामान्य परिस्थिति भइदिएको भए यतिखेर उनी कोरियाको कुनै उद्योगमा काम गरिरहेका हुन्थे । नेपालमा भएको खर्चजति केही महिनामै कमाइसक्थे । ‘कोरियामा धेरै दुःख हुन्छ भन्ने थाहा छ । त्यहाँ ४ वर्षमा हुने कमाइ नेपालमा २० वर्ष काम गर्दा पनि कमाउन सकिँदैन । त्यसैले छोटो समय दुःख गर्न तयार भएकै हो,’ उनले भने ।

कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा आचार्य जस्ता ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् । कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली कामदार लिने घोषणा गरेको थियो ।

तर त्यस वर्ष १ हजार २७ जनाले मात्र कोरिया उड्न पाए । कोरियाले नियमित रूपमा कामदार लिएको भए सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरीवरी रोस्टरमा परेका १० हजार ५ सय ५ नेपालीले रोजगार पाउँथे । सन् २०२० का लागि अघिल्लो वर्ष लिएको भाषा परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ हजार ७ सय जना उत्तीर्ण भएका थिए । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनतर्फ २ हजार जना थिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।