
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछि ताजुब देखिएको बताएका छन् ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ओलीले सम्बोधन गर्दै संसद पुनस्थापनापछि सांसदहरुले अशोभनीय गतिविधिहरु गरेको बताएका छन् ।
‘मुद्दा लडेर आएपछि ताजुव देखियो । एउटा फैसला अदालतको जय जयकार । अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?’ प्रधानमन्त्री ओलीले न्यायालयको फैसलालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।
‘मैले प्रतिनिधिसभा विघटन गरेँ, दुरदिन देख्नु थियो पुनःस्थापित भयो । पुनःस्थापनापछि चुनावमा जाने बेलामा नारा जुलुस हेर्नुस् त । एकाथरी गुरुरुर कुदछन्, अर्को थरी नारा लगाउँछन् । पहिलो गाँसमै झिंगा’ प्रधानमन्त्री ओलीको भनाइ छ । संसद पुनस्थापना भएपछि यस्तो दृश्य देखिएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीले प्रचण्ड माधवले अझै पनि सत्ता, पद र स्वार्थ मात्रै देखेको बताए । ‘केही मान्छेहरु छन् जो अरु थोक केही पनि देख्दैनन् । अर्जुनले माछाको आँखोमात्रै देखेजस्तै पद, सत्ता र स्वार्थमात्रै देख्छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
त्यस्तै, प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने प्रश्नमा उनले आक्रोश व्यक्त गरे । ‘अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ?’ प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । आइतबार संसद बैठकमा प्रधानमन्त्री ओली कुन पार्टीका हुन् भनेर सांसद भीम रावलले भनेका थिए ।
‘उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो र कुन पार्टीको सदस्य भन्ने’, ओलीले आफु कुन पार्टीको प्रधानमन्त्री भन्ने प्रश्नको जवाफ सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे ।
‘अदालतले भनेको पनि नसुन्ने, देख्नै पनि नखोज्ने, कान भएर के गर्ने सुन्दै नसुन्ने ? अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउ रे ! सर्वोच्च अदालत जानु कुन पार्टीको भन्ने’, ओलीको जवाफ थियो । त्यस्तै मानिसहरुले समस्या पैदा गरेको दावी गर्दै उनले लडाई गरेर, मुद्दा लडेर संसद पुनःस्थापना गरेकोमा आक्रोश पोखे ।
‘यतिबेला चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोकेर संसद किन पुनःस्थापना गरेको रहेछ भन्दा उफ्रिन । नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन पो रहेछ’, उनले पुनःस्थापित संसदलाई देशका समस्या छलफल गर्ने थलो बनाउनुपर्नेमा छलफल गरौं न भन्दा पनि माननीय भनेपनि व्यवहार त्यो अनुसार नदेखिएको टिप्पणी गरे ।
‘माननीय भनेर अगाडि लेखिएको हुन्छ । माननीय भनेर लेखिएजस्तो, माननीयले बोल्ने भाषा जस्तै छलफल गरौं न । तर, छलफल गरेको होकी, उफ्रेको होकि धामी नाच होकि ? पार्लियामेन्ट ?’ पहिलो दिन नै संसद अवरुद्ध र बहिस्कार गरेकोमा प्रधानमन्त्रीले सांसदहरुप्रति आक्रोश पोखे ।
‘पार्लियामेन्ट सुरु भएको छ । गुरुरर कुदेर वेलमा आएर नारा लगाएका छन्, कराएका छन् । के बिग्रियो त भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश टेवल गर्न आँट्यो सरकारले भनेर पो रहेछ । फेल गरे भैगो नि सक्छौ भने । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन’ ओलीको भनाई थियो । उनले अध्यादेश एसिड छयाप्न हुने रोक्नचाही नहुने ? भन्दै प्रश्न गरे ।














प्रतिक्रिया