१३ कार्तिक २०८३, शुक्रबार

राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सर्लाहीले बिहीबार साँझ सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको सभा हलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले मुलुकमा राष्ट्रिय मेलमिलाप, सुशासन र राजनीतिक स्थायित्वको आवश्यकता रहेको बताए । उनले धर्मनिरपेक्षता र गणतन्त्रकै बाटोबाट अघि बढ्न खोजे नयाँ उदयमान राजनीतिक शक्तिहरू पनि असफल हुन अस्वाभाविक नहुने धारणा व्यक्त गरे । नयाँ राजनीतिक शक्तिहरूलाई समेत आफ्नो विचार र सिद्धान्तबाट विचलित नभई अघि बढ्न उनले आग्रह गरे ।

थापाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विगतका त्रुटि र कमजोरी सच्याउँदै अघि बढ्न आग्रह गरे ।

त्यसैगरी, नयाँ उदयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी तथा त्यसका नेता बालेन्द्र साह र रवि लामिछानेलाई पनि पुराना राजनीतिक दलहरूको कमजोरीबाट पाठ सिक्दै सबै नेपाली अटाउने नयाँ राजनीतिक प्रणाली निर्माणको दिशामा अघि बढ्न सुझाव दिए ।

उनले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै अहिले पनि मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताए ।

‘अब कसैलाई निषेध गरेर होइन, राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउने राजनीतिक प्रणाली कायम गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सबै मिलेर देशमा सुशासन कायम गरौँ, प्रजातन्त्र वा लोकतन्त्रलाई बलियो बनाऔँ र नेपाली जनताको चाहनाअनुसार आर्थिक समृद्धिको लक्ष्य हासिल गरौँ ।’

थापाले मुलुकको हितका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य, सहयोग र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षलाई अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा उनले पार्टी संगठनलाई थप बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देश नसमेत दिए । पार्टीको संगठन विस्तारका लागि सक्रिय सदस्यको संख्या बढाउनुपर्नेमा जोड दिँदै उनले संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।