काठमाडौं, २२ फागुन । सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रूपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शुक्रबार मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्किएको छ ।
संसदीय व्यवस्थाप्रति विमति राखेर ‘एकीकृत जनक्रान्ति’ भन्दै भूमिगत आन्दोलन गर्दै आएको नेकपाले वैज्ञानिक समाजवादसहितको जनगणतन्त्र शान्तिपूर्ण रूपमै जनतामा गएर स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहमा सरकार र चन्द समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिमा दुई पक्षबीच देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, चन्द समूहले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, जेलमा रहेका उसका नेता–कार्यकर्ता रिहा, गतिविधिमा प्रतिबन्ध फुकुवा र मुद्दा खारेज गर्ने सहमति भएको हो । सबैको चासो रहेको चन्द समूहसँग भएका भनिएका हतियारबारे भने सहमतिपत्र मौन छ । सहमतिपत्रपछिको सम्बोधनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव चन्दले यसबारे केही उल्लेख गरेनन् ।
सहमतिपत्रमा उल्लेख नभएका कतिपय विषयमा विवाद देखिए वार्ता र संवादबाटै समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितिमा दुवै पक्षका वार्ता टोलीले सहमतिपत्रमा हस्ताक्षर गरेपछि चन्दले सम्बोधन गर्दै आफूहरू वैज्ञानिक समाजवादका निम्ति शान्तिपूर्ण रूपमै जनतासम्म जाने प्रतिबद्धता जनाएका थिए । उनले यसका लागि सहमतिपत्र ऐतिहासिक भएको पनि बताए । दुई वर्षयता एकअर्काविरुद्ध आक्रामक बनेका ओली र चन्द शुक्रबार भने निकै खुसी देखिन्थे । उनीहरूले अर्काको प्रशंसामा पनि समय खर्चिए ।
मञ्चमा मुखामुख गर्दा पनि दुई नेताको मुहारमा मुस्कान देखिन्थ्यो । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषद्को २ वर्ष अघिको वार्षिक प्रतिवेदनमा चन्द समूहलाई आतंककारी र विध्वंसकारी उल्लेख गरिएको थियो । त्यसपछि पनि ओली र चन्दका अभिव्यक्ति निकै आक्रामक थिए । शुक्रबार भने ओलीले चन्दलाई निर्णय क्षमता भएको नेताको विशेषण दिए । चन्दले सरकारकै पहलबाट आफूहरू तीनबुँदे सहमतिमा आउन सफल भएको टिप्पणी गरे । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया