३१ आश्विन २०८३, शनिबार

मिर्गौला दोस्रो प्रत्यारोपणको १ वर्ष : सक्रियताले चिकित्सक चकित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं। म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्।’
मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिएका छन्। स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन्।

सामान्यतयाः मानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ। तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन्। ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ। त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन्। रोग र राजनीतिक संघर्ष झेल्दै आएका उनी फुर्तिला देखिन्छन्।

एक वर्षअघि आजकै दिन (फागुन २१) उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्। उनको शरीरमा गरिएको यो दोस्रो प्रत्यारोपण हो। त्यसको १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए। ‘उहाँको अनुहारमा कान्ति फर्किएको छ। मनोबल उच्च देखिन्छ। ऊर्जा झन् बढेको छ’, मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्छन्, ‘उहाँको स्वस्थता देखेर सन्तुष्ट छु। उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ।’

नियमित औषधि सेवन, सामान्य व्यायाम दिनहुँ गर्ने र स्वस्थकर खानपानमा ध्यान दिएका कारण सक्रिय जीवन बिताउन सफल भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह बताउँछिन्।

२०३२ सालतिर जेलमा पर्दा उनी अल्सरले थलिएका थिए। ४ फागुन २०७६ मा गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘मेरो पेट चार पटक चिरिएको छ। केही अंग काटिएको, फालिएको र फेरिएको छ।’

रोेगसँग लड्दै आएका उनलाई प्रत्यारोपण गर्नुअघि अचानक एपेन्डिसाइटिस फुट्यो। त्यो शरीरमा फैलिएको थियो। उनी भेन्टिलेटरमा थिए। चिकित्सकहरूका अनुसार उनी बालबाल बाँचेका थिए। ‘एपेन्डिसाइटिस फुटेर गरिएको शल्यक्रिया रिकभर हुनेलगत्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो। विभिन्न खालका स्वास्थ्य चुनौती झेलेर आउनुभएको छ’, प्राडा शर्माले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मिर्गौला प्रत्यारोपणका लागि विदेश जान सक्नुहुन्थ्यो। तर, हामी (नेपाली चिकित्सक र स्वदेशको अस्पताल) माथि विश्वास गरेर शिक्षण अस्पतालमा प्रत्यारोपण गर्नुभयो। स्वास्थ्यकर्मीलाई उत्साहित गराउनुभयो। स्वदेशमै प्रत्यारोपण गरेर उदाहरण प्रस्तुत गर्नुभयो।’

सानोतिनो स्वास्थ्य समस्या आउनेबित्तिकै विदेश कुदिहाल्ने प्रवृत्ति रहेकामा प्रधानमन्त्री ओलीले स्वदेशमै प्रत्यारोपण गर्दा सकारात्मक सन्देश प्रवाह भएको डा. शर्माले बताए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।