मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बल्ल छुट्याइँदै गाउँ र सहर

दैनिक नेपाल २०७७ फागुन १६ गते ७:४५

काठमाडौं, १६ फागुन । हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ। सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने निर्देशक चौलागाईंको भनाइ छ।

स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन्। सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ। भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार/सेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ। इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक/एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली यसरी सोधिनेछ।

वडाको केन्द्रमा वर्षभरि सडक यातायात सञ्चालन हुन्छ ? बहुसंख्यक बडावासीको सार्वजनिक यातायातको पहुँच छ ? वडामा स्थानीय यातायात/नगर यातायात सेवा उपलब्ध छ ? वडाभित्र कालोपत्रे भई बाह्रै महिना चल्न सक्ने सडक कति छ ? वडाभित्र धुले/माटे सडकको लम्बाइ कति छ ?

एक घर, एक धाराको हिसाबले पाइपबाट वितरित सुरक्षित खानेपानी कति घरपरिवारमा पुगेको छ ? घरभित्रै/घर परिसरभित्र शौचालय भएको घरपरिवार कति छन् ? शौचालयको फोहोरमैला विसजर्नका लागि ढल सेवा कति घरपरिवारमा जडानमा पुगेको छ ? फोहोरमैला नियमित संकलन गरी व्यवस्थापन गर्ने सेवा कति घरपरवारमा पुगेको छ ? राष्ट्रिय प्रसारण लाइन वा भरपर्दो विद्युत् प्रणालीमा जोडिएको घरपरिवार कति छन् ?

वडामा उच्च गतिको/ब्रोडब्यान्ड इन्टरनेट सुविधा कति जनसंख्यामा पुगेको छ ? वडामा सुरक्षित घर अर्थात् व्यवस्थित र योजनाबद्ध आवास (जग्गा विकास क्षेत्र, सामूहिक आवास, संयुक्त आवास, एकीकृत बस्ती) क्षेत्रमा बस्ने घरपरिवार कति छन् ?

३० मिनेटको पैदलयात्रामा बजारको केन्द्रसम्म पहुँच भएका घरपरिवार कति छन् ? लगायत गाउँ सहर छुट्याउने प्रश्नावली तयार गरिएको छ। सामाजिक पूर्वाधार/सेवा सुविधाको अवस्थाका प्रश्नावली छन्। आधा घण्टाको पैदल दूरीमा उच्च शिक्षाको सेवा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा पुस्तकालय सुविधा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा मेडिकल डाक्टर (एमबीबीएस)को सेवा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा सुरक्षा बेस वा प्रहरी चौकी छ/छैन ? वडाको मुख्य बस्तीबाट ५ किमि दूरीमा दमकल सेवा उपलब्ध छ/छैन ? आधा घण्टा दूरीमा हरियाली पार्क वा बाल उद्यान खेल मैदान छ/छैन ?

आर्थिक पूर्वाधार र सेवासुविधाबारे विवरण संकलन गरिनेछ। वडामा परिवार नै बसाइ सरी आउने वा जाने अवस्था कस्तो छ ? आधा घण्टाको पैदल दूरीमा बैंक वा वित्तीय सेवा उपलब्ध भएका घरपरिवार कति छन् ? सहकारी पहुँच भएका घरपरिवार कति छन् ? आधा घण्टाको दूरीमा सिनेमा हल/नाचघर/कलकेन्द्र, व्यापारिक केन्द्र/सपिङ मल छ ?

प्रहरी चौकी, सार्वजनिक पुस्तकालय, सामुदायिक सिकाइ केन्द्र वृद्धाश्रम, बालगृह, सार्वजनिक शौचालय, सामुदायिक भवन वा सभाहल, पशुबधशाला, व्यवस्थित शवदाह स्थल/शव गाड्ने स्थल, खेलमैदान/टुँडिखेल, सार्वजनिक पार्क, वडा कार्यालयको आफ्नै प्रशासकीय भवन, मठमन्दिर, गुम्बालगायतको विवरण छ कि छैन ? जस्ता प्रश्नावली तयार गरिएको छ।

निर्देशक चौलागाईंले यी प्रश्नावलीको आधारमा गाउँ र सहर छुट्टिने बताए। २०७८ जेठ २५ देखि असार ८ सम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ।
सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित