३१ आश्विन २०८३, शनिबार

सत्ता साझेदारीका लागि दाहाल-नेपालको दौडधूप, जसपा नेताको व्यंग्य – तपाईंहरूको पार्टी कुन हो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।

छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरूलाई फकाउने प्रयास गरेका थिए । उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर आफूहरूले सरकार बनाउन चाहेको बताएका थिए ।

दाहाल–नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरूले भने उनीहरूमाथि आधिकारिकताको प्रश्न उठाएका छन् । जसपा अध्यक्ष ठाकुरले दाहाल–नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्न उठाएका थिए ।

‘तपाईंहरूको पार्टी कुन हो ? पहिले तपार्इंहरूले पार्टीको टुंगो लगाउनुस्’, ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यदि नेकपा नै यथावत् हो भने ठीकै छ । होइन, फुटेकै हो भने पनि तपार्इंहरूले राजनीतिक रूपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन ।’

सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए । ‘पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरूको पार्टी चाहियो नि’ वरिष्ठ नेता महतोले भने, ‘पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ ? पहिले एउटै हो कि दुईवटा भइसक्यो ? त्यसलाई कानुनी रूपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ ।’

बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारलाई दिएका छन् । ‘तपार्इंहरूको कुन पार्टी हो ? पार्टी चाहियो नि त त्यसमा पहिले प्रस्ट हुनुहोस्’, बैठकमा आफ्नो भनाइबारे महतोले भने, ‘तपाईंहरूले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौं भनेका छौं ।’

स्रोतका अनुसार बैठकमा जसपा नेताहरूले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए । उनीहरूले यी दुई एजेन्डामा दाहाल–नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका छन् । राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।