ओखलढुंगा, ५ फागुन । ओखलढुंगा क्याम्पसमा सरस्वती पूजाको अवसर पारेर ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति’ स्थापना गरिएको छ ।
होमबहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठका परिवारले ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ ट्रष्ट’को तर्फबाट ट्रष्ट स्थापना गरिएको छात्रवृतिका संस्थापक शिवजी श्रेष्ठले बताए ।
३५ वर्ष अगाडि २०४२ सालमा स्थापित क्याम्पसका गरिब तथा जेहेन्दार विद्यार्थीमध्ये प्रत्येक वर्ष एकजनाले छात्रवृति पाउने गरि १ लाख २० हजारको अक्षय कोष खडा गरिएको छ । सो रकम श्रेष्ठले क्याम्पस प्रमुख सुमन राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।
कोषबाट आउने ब्याजबाट प्रत्येक वर्ष छात्रवृति प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
यस वर्षको ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति’ प्रमाणपत्रसहित रु. ११ हजार १ सय ११ रुपियाँ ट्रष्टको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बीबीएस तेश्रो वर्षमा अध्ययनरत छात्रा मनिता बस्नेतलाई प्रदान गरिएको छ ।
पूर्व क्याम्पस प्रमुख नारायणबहादुर सैंजु तथा संचालक समितिका पूर्व अध्यक्ष भैरवबहादुर श्रेष्ठको बिदाइ तथा सम्मान समेत गरिएको छ ।
कार्यक्रममा छात्रवृतिका संस्थापक श्रेष्ठको संदेश पढेर सुनाइएको थियो ।
श्रेष्ठले ४० वर्ष अगाडि क्याम्पस स्थापना गर्न थोरै रकम कम हुँदा काम पछाडि धकेलिएको बताए । त्यसबाट एउटा पुस्ताले आफ्नो उच्च शिक्षा हासिल गर्ने अवसर गुमाएको उनले बताएका छन् ।
‘चराले आफू जन्मे हुर्केर उड्न सिकेको गुड भुले जसरी विद्यार्थीले भोलि आफू जहाँ रहेपनि जन्मदाता, जन्मथलो, बिद्यार्थी थलो भुल्नु हुँदैन’, उनले भनेका छन् ।
क्याम्पस प्रमुख राजभण्डारीले श्रेष्ठ परिवारले गरेको सहयोगप्रति धन्यावाद दिए ।
सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले श्रेष्ठ परिवारलाई कदर पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रदेस सभा सांसद, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बस्दै श्रेष्ठ र उर्मिला श्रेष्ठले केहि समय अगाडि मात्रै भक्तलाल श्रेष्ठ, भेषकुमारी श्रेष्ठसंग मिलेर ओखलढुंगा जिल्ला अस्पताललाई पोर्टेबल अक्सिजन सामग्री प्रदान गरेका थिए ।















प्रतिक्रिया