१ कार्तिक २०८३, आइतबार

जहाँ पाँचवटा हत्याको अनुसन्धान नै भएन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३ फागुन । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।

दोगडाकेदारअन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटना हुनुभन्दा अघि भएका पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुपमा राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै घरबाट पौने घण्टा पैदल हिँडेर दारकुडी मन्दिरमा मेला भर्न गएका थिए । राति मेलामा एक स्थानीयले कुटपिट गरिरहेको देखेपछि उनका भतिजा भोजबहादुरले जोगाएका थिए । त्यसपछि भोजबहादुर मेलामा आफ्ना साथीहरूसँगै रमाए । काका भने बीचमै छुटे । रातिको समय, बाक्लो भीडभाड । भोजबहादुरलाई काकाको वास्ता भएन । भोजबहादुरले सुनाए, ‘बिहान घर जाने बेला खोजी गर्दा त काका मेलास्थलनजिकै मृत अवस्थामा भेटिए ।’ त्यसबेला जयसिंह भर्खर २५ वर्षका थिए । जयसिंहको मृत्युपछि उनका श्रीमती र नाबालक छोराको बेहाल छ ।

हत्याको आशंकामा परिवारले जिल्ला प्रहरी कार्यालयमा तीन जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेन । ‘घटनास्थलमा लछारेर शव फालिएको जस्तो देखिन्थ्यो । शरीरभर नीलडाम थिए । राति एक्कासि हामीबाट छुटेका काकाको हत्या गरिएको भए पनि प्रहरीले अनुसन्धान त के, जाहेरी नै दर्ता गरिदिएन । घटनाको अनुसन्धान हुनुपर्ने हाम्रो माग पनि कसैले सुनिदिएन,’ भोजबहादुरले भने । सरकारी वकिल कार्यालयमा जाहेरी लेखाएर तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय दिपायल र काठमाडौंसम्म पठाए पनि कुनै खबर नआएको उनले सुनाए ।

मृतकका बुबा गणेश कार्कीले किटानी जाहेरी दिएको उनले सुनाए । ‘त्यतिबेला किटानी जाहेरी परेकालाई प्रहरीले सोधपुछका लागि जिल्ला प्रहरीमा पनि बोलाएन । भीरै नभएको ठाउँमा भीरबाट लडेर ज्यान गएको भनियो,’ भोजबहादुरले भने, ‘हामीलाई बरु केही दिन जिल्ला बोलाएर सोधपुछ गरे । जाहेरीमा किटान गरिएकाहरू खुलमखुला हुँदा हामीले डराउँदै हिँड्नुपर्छ ।’

दोगडाकेदार–७ रिखालीकी करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको २०६५ सालमा धारिलो हतियारले हत्या गरियो । घटना हुँदा उनी घरमा एक्लै थिइन् । छाना फुटाएर उनको हत्या गरी गहना झिकिएको थियो । उक्त घटनामा पनि अनुसन्धान भएन । हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । २०६३ सालमा रिखाली गाउँकै गगनसिंह कार्कीको शव बोरामा हालेर फालिएको अवस्थामा सडकमा फेला परेको थियो । स्थानीयका अनुसार गगनसिंहको शवलाई सनातन धर्म माध्यमिक विद्यालयको छेउबाट सडकमा खसालिएको जस्तो देखिन्थ्यो । तर घटनामा संलग्नको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको स्थानीय नवराज भट्टले बताए ।

यी तीन जनाको हत्या घटनाअघि एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन् । एउटै ठाउँमा भएका यी पाँचवटा हत्याका घटना हालसम्म गुपचुपमै रहेकाले आपराधिक मानसिकता भएका व्यक्तिहरूमा जे गरे पनि हुन्छ भन्ने सोच पलाएको नवराजको अनुमान छ । तृप्ति शाहीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।