१ कार्तिक २०८३, आइतबार

नेकपा विभाजन : कार्यालय एउटा, कार्यक्रम दुई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ३ फागुन । नेकपाको दमौलीस्थित कार्यालयको सभा हलमा माओवादी सशस्त्र युद्धका अवसरमा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबाट जनयुद्ध दिवस मनाउने तयारी हुँदै थियो। नेकपाका जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमानसहितका केन्द्रीय र प्रदेशस्तरका नेतासम्म दमौली आएका थिए।

कार्यक्रमको तयारी हुँदै थियो, नेकपा ओली समूह निकट महासंघका सदस्य आएर सभाहलमा कार्यक्रमको तयारी गरे। ओली समूहमा रहेका नेकपा जिल्ला अध्यक्ष केदार सिग्देललाई कार्यक्रममा डाँकिएको थियो।

एकै समयमा दुई कार्यक्रम तय भएपछि कसले गर्ने भन्ने विवाद भयो। दुवैले आफूले पहिले कार्यक्रमको तयारी गरेको भन्दै दाबी गरेपछि प्रहरी नै परिचालन गरियो। प्रशासनले नै हस्तक्षेप गरेपछि विवाद थप चर्कन पाएन।

ओली समूह निकट महासंघको कार्यक्रम २ बजे सक्ने र त्यसपछि प्रचण्ड नेपाल खेमाले दिवस मनाउने सहमति प्रशासनमा भयो। तर २ बजे कार्यक्रम नसकिएपछि कार्यक्रमस्थलमै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले नाराबाजी गर्न थाले। त्यसबीच प्रमुख अतिथि रहेका नेकपा अध्यक्ष सिग्देलले भाषण सकेपछि जनयुद्ध दिवसको कार्यक्रम गरियो।

नाराबाजी हुँदै गर्दा कार्यक्रम सकिएकाले थप विवाद हुन नपाए पनि त्यसपछि कार्यक्रममा बोलेका नेताहरुले त्यस विवादका विषयमा चर्को अभिव्यक्ति दिए। गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रीसमेत रहेका चुमानले केन्द्रमा विवाद रहेसम्म दुवै पक्षले समझदारीका आधारमा कार्यक्रम हुनुपर्ने बताए।

तत्कालीन नेकपा एमालेमा रहेका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्य शंकरनारायण श्रेष्ठलगायतले कार्यालय भवन बनाउन आफ्नो पनि भूमिका रहेको भन्दै एकपक्षीय रुपमा गतिविधि नगर्न आग्रह गरे।

जनसांस्कृतिक महासंघ र जनयुद्ध दिवस कार्यक्रममा विवादको टुंगोसँगै अबका दिनमा नेकपाका दुवै खेमाबीच कार्यक्रम गर्दाका लागि एउटा नियम बनाइएको छ। तनहुँ प्रशासनले तयार पारेको नियमका अनुसार अब नेकपाका दुवै पक्षमध्ये प्रशासन कार्यालयमा पहिले पुग्नेले हल पाउने भएको छ।

शनिबारको कार्यक्रममा जनयुद्ध दिवस मनाउन तयारी गरेको प्रचण्ड–नेपाल र जनसांस्कृतिक महासंघको कार्यक्रम तय गरेको ओली पक्ष दुवैले आफू नै पहिले पुगेको दाबी गरेपछि प्रशासनले मध्यमार्गी विकल्प निकालेको हो। पवन पाैडेलले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।