काठमाडाैं, ३० माघ । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ।
प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन। तराईको तुलनामा थौरै जनसंख्या र बाहिरी मान्छेको चहलपहल न्यून हुने ठाउँमा अहिलेसम्म हत्यारा पत्ता नलाग्दा भागरथी हत्या घटना पनि निर्मला पन्तको जस्तै जटिल बन्दै गएको छ। प्रहरीले भने प्रविधिको सहयोगबाट हत्यारा पत्ता लाग्ने विश्वास लिएको छ।
नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाणहरूको जाँचपछि हत्यारा पत्ता लाग्ने बताए। घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको उनले बताए। ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ उनले भने, ‘संकलित तथ्य र प्रमाणको जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्नेछ।’ भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन।
अहिलेसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ। प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन।
‘सधैं बिद्यालयबाट एक्लै फर्कने, सामुदायिक वनको सुनसान बाटो भएकाले योजनाबद्ध ढंगले पनि हुनसक्छ, सुनसान बाटोमा एक्लै भेट्टाएर आपराधिक मानसिकताका व्यक्तिले यस्तो गरेको पनि हुन सक्छ’, प्रवक्ता सिंहले भने।
निर्मलाको हत्या घटनाभन्दा फरक भएकाले भागरथीको हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीको भनाइ छ। निर्मलाको घटनामा सुरुमा प्रहरी प्रमाण जोगाउन चुकेको, आफन्तलगायत आमसमुदायले सुरुदेखि नै आन्दोलन गरेकाले अनुसन्धानमा प्रभाव परेको प्रवक्ता सिंह बताउँछन।
‘निर्मलाको घटनामा सुरुमा प्रहरी चुकेकाले सबै प्रमाण जोगाउन सकिएन, अनि दोस्रो दिनदेखि नै आन्दोलन गरेर प्रहरीलाई अनुसन्धान गर्न असहज बनाइयो,’ उनले भने, ‘तर भागरथीको हत्या घटना फरक छ।’
भागरथीको शव फेला पर्नेबित्तिकै घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरी टोली, चिकित्सकसमेत घटनास्थल पुगेर प्रमाण र तथ्य संकलन गरिएको उनले बताए। समुदायको पनि अनुसन्धानमा सहयोग पाइएकाले पनि दोषी छिट्टै पत्ता लाग्ने उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया