– प्रकाश सिलवाल
अघिल्लो संविधानसभाको निर्वाचनपूर्व र पछि एमालेबाट एमाओवादीमा जाने क्रम देखिएको थियो भने अहिले त्यो क्रम उल्टिएको छ । पछिल्लो समयमा एमाओवादी, सङ्घीय समाजवादी, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलबाट एमालेमा प्रवेशका विभिन्न चरणमा कार्यक्रम सम्पन्न भएका छन् । खासगरि, दोस्रो संविधानसभायता एमालेमै फर्कने वा समाहित हुने क्रम बढेको हो । एमालेबाटै एमाओवादी हुँदै राष्ट्रिय प्रगतिशील मञ्च गठन गर्न पुग्नुभएका अर्थशास्त्री डा डिल्लीराज खनाल, अनेरास्ववियुका पूर्व उपाध्यक्ष नवराज पौडेललगायतको समूह शनिबार पुनः पुरानो पार्टी फर्किएको छ ।
पार्टीका घर फर्क अभियानका लागि एमालेको अघिल्लो नेतृत्व (झलनाथ खनालको अध्यक्षता) देखि नै पहल प्रारम्भ भएको थियो भने गत असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष भएपछि केन्द्र र जिल्लास्तरमा सो क्रमले तिब्रता पाएको छ भने अझै प्रवेशका कार्यक्रम तय हुने देखिएको छ । सत्तामा रहेको स्थिति र पार्टीको हैसियतका आधारमा आउने—जाने गर्नुलाई ‘अस्थिर स्वभाव’ को टिप्पणी पनि गर्ने गरिन्छ भने एमाओवादीमा जुन आशा र सम्भावना देखिएको थियो, त्यहाँभित्र पुगेपछि त्यो भ्रम रहेको ठान्दै एमाले फर्कनेको लर्काे पनि कम छैन । यसबीचमा राधाकृष्ण मैनाली, डा विजय सुब्बा, केशव स्थापित, प्रल्हाद गिरी, गोविन्दविक्रम शाह, विष्णु भट्टराईलगायतका नेता एमालेमा पुनः प्रवेश गरिसक्नुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ पार्टीमा घर फर्काउने क्रम अझै जारी रहेको बताउनुहुन्छ ।
एमालेका केन्द्रीय सदस्य तथा पेसागत बुद्धिजीवी फाँटका इञ्चार्ज डा राजन भट्टराई अहिले देशव्यापीरुपमा एमालेमा फर्कने र नयाँ प्रवेशीको लहर आएको जनाउँदै काठमाडौँ, सर्लाही, जाजरकोट, अछाम, झापा र रामेछापलगायतका जिल्लाबाट नेता कार्यकर्ता एमालेमा आएको बताउनुहुन्छ । डा भट्टराई भन्नुहुन्छ, “यस्तो हुनुको मूल कारण एमालेमा विचारको स्पष्टता, राष्ट्रिय राजनीतिमा यसले हाल खेलेको केन्द्रीकृत भूमिका र स्पष्ट अडान नै मुख्य कारण हो । पार्टी सत्तामा रहेकाले पनि प्रवेशको सोच होला तर त्यसलाई निर्णायक मान्न सकिँदैन ।”

अर्थशास्त्री खनालले एमाले फर्कँने क्रममा दिनुभएको वक्तव्यमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजमा विद्यमान वर्गीय, जातीय, भाषिक, साँस्कृतिकलगायतका उत्पीडन र विभेदविरुद्ध सङ्घर्षरत र राजनीतिक उपलब्धीलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणलाई तिब्रता दिन यही पार्टी सक्षम रहेको जनाएर छ वर्षअघि पार्टी छाड्नुलाई गल्ती भएको निचोड पस्कनुभयो । यद्यपि, एमालेबाट एमाओवादीमा गएका केन्द्रीय नेताहरु रामचन्द्र झा, उर्मीला अर्याल, धर्मदत्त देवकोटा, विषमलाल अधिकारी दनुवार, साहित्यकारहरु जेबी टुहुरे, डा सुधा त्रिपाठी, रमेश भट्टराईलगायत एमाओवादीमै हुनुहुन्छ ।
एमाले छाडेर हाल एमाओवादीका केन्द्रीय सदस्य हुनुभएका देवकोटाका विचारमा पार्टी हेरफेर गर्नुलाई व्यक्तिको निजी इच्छा मान्दै अहिलेको आवश्यकता वामपन्थी ध्रुवीकरण हो भन्नुहुन्छ । “पूर्ण सन्तुष्टि कहीँ पनि हुँदैन । जहाँ छौँ, त्यहाँ रहेर सङ्घर्र्ष गर्नुपर्छ । अस्थिर हुँदा मुलुक पनि अस्थिर हुन्छ ।” उहाँले एमालेमा पनि अहिले कोही निसास्सिएका होलान् ।” उहाँले रासससँग भन्नुभयो, “एमाओवादीमा पनि होलान्, त्यो बेग्लै कुरा हो, तर यसो भन्दै छाडेर हिंडेर मात्रै निकास निस्कन्छ भन्ने होइन ।”
पञ्चायतकालदेखि नै वाम राजनीतिलाई सांस्कृतिक क्षेत्रबाट सघाउँदै आउनुभएका जनकलाकार रामेश भने अहिलेसम्म देखिएका र ठूला भएका सबै वाम पार्टी र तिनका नेताले बोलीअनुसार जनतालाई सेवा दिन नसकेकोमा असन्तुष्टि जनाउँदै एमाओवादी र त्यसबाट फुट्ने र जुट्न खोज्ने कारण र प्रवृत्तिको पनि औचित्य पुष्टि नभएकाले सबै पार्टीमा रहेका असल र युवा मिलेर नयाँ शक्ति बनाउनु उत्तम ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “खराब प्रवृत्तिलाई सुधार्ने हो भने एमाले पनि आदर्शवान् नेता र कार्यकर्ता नभएको पार्टी होइन ।” रासस
















प्रतिक्रिया