४ कार्तिक २०८३, बुधबार

कोरोनाविरुद्धको खोप शुरू हुनुअघि नै नेपालमा २०१७ जनाको मृत्यु, २ लाख ७० हजार भन्दा बढी संक्रमित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । भोलि बुधबारदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू हुँदै छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको १ वर्ष ३ दिनपछि भोलि बुधबारदेखि यो अभियान शुरू गर्न लागिएको हो ।

यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको यो दर ०.७४ प्रतिशत हो ।

मंगलबारसम्म नेपालमा २ लाख ७० हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार १७ जनाको मृत्यु भएको हो भने २ लाख ६४ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् । निको हुनेको यो दर ९८.०४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिसकिएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ भने सोही संख्याका संक्रमित आइसोलेसनमा छन् ।

त्यसैगरी मंगलबारसम्म देशभरका विभिन्न क्वारेन्टिनमा १२२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । नेपालमा पहिलोपटक चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार उद्घाटन गर्ने कार्यक्रम छ । उक्त अवसरमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर भण्डारीले लगाउने भएका छन् ।

यी समाचारहरू पनि पढ्नुहोस्–