३० आश्विन २०८३, शुक्रबार

सभासद्को गाडी नै अबैध !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dik-Bahadur-Limbu

मोरङ, १५ चैत । कार तयारी अवस्थामा छ । र, चढ्दै गरेका व्यक्ति चाँहि कुनै सर्वसाधारण होइनन्, देशकै माननीय सभासद् हुन् । जसलाई यो देशको मुल कानुन– संविधान बनाउन मोरङका जनताले जिताएर पठाएका ।

मोरङ– ९ का यी सभासद् डिगबहादुर लिम्बुलाई आजभोलि उनको क्षेत्रका बासिन्दा सामु चर्चाको पात्र बन्न थालेका छन् । कारण हो, उनले चढ्ने गाडी । आफ्नो क्षेत्रमा जाँदा उनी लज्जास्पद रुपमा भारतीय नम्बर प्लेटको गाडी चढेर हिँड्ने गरेका छन् । त्यही गाडी पनि आफ्नो होइन्, व्यापारीले सित्तैमा उपहार दिएको ।

नेपालमा भारतीय नम्बर प्लेटको गाडी आउन पाउँछ । तर, सँधैभरि दैनिक प्रयोजनमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्न कानुनले छुट दिएको छैन । त्यसैले त सर्वसाधारणहरु यातायात व्यवस्था कार्यालयमा कर तिरेर वैधानिक रुपमै नेपाली नम्बर प्लेटकै गाडी चढ्छन् । तर, सभासद् लिम्बु भने बिना हिच्किचाहट भारतीय नम्बर प्लेटको गाडी चढेर सार्वजनिक कार्यक्रममा पुग्छन् । यो तस्वीर केही दिन अघि आफ्नो निर्वाचन क्षेत्रमा जाँदा लिम्बूले गाडी चढ्दा बखतको हो ।

‘कुनैपनि देशको राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षाका लागि त्यस देशका नेताहरु बढी जिम्मेवार हुन्छन् । देश चलाउने अनि शासन चलाउने नेताहरु नै यस्तो गर्छन् भने हामी जनताले के गर्ने ?, नाम प्रकाशित नगर्ने शर्तमा एक स्थानीय भन्छन्, ‘जनतालाई ऐन सभासद्लाई चाँहि चैन भयो । अब हामी पनि सभासद् लिम्बूले जसरी नै अबैध गाडी चढ्न थाल्ने ?’

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा समेत उनले नेपाली नम्बर प्लेटको गाडी चढेका थिए । तर, काँग्रेस सभासद् डिगबहादुर आफ्नै देशभित्र भारतीय नम्बर प्लेटको गाडी चढ्ने को हुन् ? के उनी कानुन भन्दा माथि छन् ?’ –स्थानीयको आक्रोश छ ।

रुट परमिट नलिई भन्सार छलेको अबैध गाडी लिएर दिनदिनै गाउँगाउँसम्म पुग्ने सभासद् लिम्बूलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । ‘संविधान बनाउलान्, हामीलाई शान्तिसँग बाँच्न देलान भनेर उनलाई जिताएर पठायौं, मोरङ ९ का एक स्थानीयले भने, ‘उल्टै दिनभरी भारतीय गाडी चलाएर गाउँमा घुमिरहेका हुन्छन्, राष्ट्रियताको खिल्ली उडाइरहेका छन् ।’

स्थानीयका अनुसार, गएको संविधानसभा निर्वाचनमा एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र एमालेका स्थानीय लोकप्रिय नेता घनश्याम खतिड्कालाई हराएका कारण उनको चुरीफुरी नै अर्कै छ । उनी आफूलाई निकै ठूलो र लोकप्रिय नेता ठान्छन् । ‘तर, ठूलो र लोकप्रिय भए पनि कानुन त मान्नुपर्छ होला नि ?’– स्थानीय बासिन्दाको प्रश्न छ ।