३० आश्विन २०८३, शुक्रबार

पत्रकार भट्टराई मृत फेला, हत्याको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sachin-Bhattarai-dainiknepal

काठमाडौँ, १५ चैत । उदयपुरका युवा पत्रकार सचिन भट्टराई सुनसरीको इटहरीमा मृत फेला परेका छन् ।

इटहरीको धरान-विराटनगर सडक खण्डको किनारमा पत्रकार भट्टराईको मृत शरीर भेटिएको हो । प्रहरीले बुधबार नै बेबारिसे शव भेटे पनि त्यसको सनाखत हुन सकेको थिएन् । तर, उदयपुरका पत्रकारहरुले सोधीखोजी गरेपछि त्यो शव भट्टराईकै भएको पुष्टि भएको हो । सचिनका दाजुले शवको सनाखत गरेका थिए ।

उदयपुर सदरमुकाम गाईघाटबाट प्रकाशित हुने बरुवा टाइम्सका कार्यकारी सम्पादक रहेका भट्टराई चैत्र १० गतेदेखि इटहरीबाट बेपत्ता भएका थिए । घरायसी कामका लागि सुन जमानत राख्न उनी चैत १० गते इटहरी आएका थिए । त्यसपछि एकजना आफन्तसँगै धनकुटाको भेडेटार घुम्न गएका उनी साँझ ७ बजेपछि इटहरीबाट हराएका थिए ।

प्रहरीका अनुसार, उनको टाउकोमा गम्भीर चोट देखिएको छ । घटनाको प्रकृति हेर्दा दुर्घटना जस्तो देखिए पनि टाउकोबाहेक शरीरका अन्य भागमा चोट नलाग्नु र मोबाइल इटहरीमै भेटिनुले थप आशंका उब्जाइदिएको छ ।

साँझसँगै बसेर खाजा खाएका उनका आफन्तले बोली फेरिरहेकाले हत्याको आशंका गरिएको प्रेस चौतारीका पूर्वाञ्चल उपाध्यक्ष कुशलबाबु बस्नेतले बताएका छन् ।

सचिनको मृत्युपछि उदयपुर र सुनसरीका पत्रकारहरु शोकाकुल बनेका छन् । घटनाबारे सत्यसत्य पत्ता लगाउन उदयपुरका पत्रकारहरुको टोली इटहरी आइपुगेको प्रेस चौतारी उदयपुरका अध्यक्ष भरत खड्काले दैनिक नेपाललाई जानकारी दिए । पत्रकारितामा सक्रिय रहँदारहँदै केही समय वैदेशिक रोजगारीमा गएका सचिन गत मंसिरमा मात्र नेपाल फर्किएका थिए । उनी प्रेस चौतारी उदयपुरसँग आबद्ध थिए ।
यो पनि पढ्नुहोस्:
पत्रकार सचिन भट्टराईको हत्या भएको निष्कर्ष, महासंघले बनायो छानबिन समिति