काठमाडौं, १५ पुस । नेकपाका स्थायी समिति सदस्य (केपी ओली) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्नका लागि प्रधानमन्त्री ओलीसँग काँध मिलाएको बताए ।
दाहाल–माधवकुमार नेपालहरू सडकमा हामी यहाँ छौं भनिरहेकोप्रति व्यंग गर्दै भट्टले भने, ‘उहाँहरूलाई हामीले खोज्न जानुपर्ने स्थिति छ, कहाँ हुनुहुन्छ भनेर । देशका कुनाकाप्चामा कहाँ कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने दायित्व प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ ।’
दाहालले पूर्वमाओवादीलाई एमालेसँग एकता गर्दा ओलीलाई आफूले नचिनेको र भन्दै विश्वासघात गरिएको उनले बताए ।
भट्टले पूर्वमाओवादी एक बनौं भन्न नमिल्ने बताए । उनले एमाले र माओवादी विगत भइसकेकाले अहिले ओलीको अगुवाइमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
दाहालले प्रधानमन्त्री बन्न खोजेको र माधवकुमार नेपालले दोस्रो वरियताको अध्यक्ष खोज्दा पार्टीमा अहिलेको अवस्था आएको बताए । प्रधामन्त्री ओलीले ल्याएको सुखी नेपाली, समृद्ध नेपाल नारा नभएर विचारधारा भएको भट्टको भनाइ थियो ।











प्रतिक्रिया