
काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आधा घण्टाको फरक पारेर संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
ओलीले बिहीबार साँझ साढे ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
धानमन्त्री केपी शर्मा ओलीले परिषद् बैठकको लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेको बताइएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुग्यो ।
तर, सोही दिन बेलुका अध्यादेशपछि नयाँ बैठक बस्यो । उक्त बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्टि«य सभा अध्यक्ष रहेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख दुवैको सहभागिता त्यसमा रहेन ।
त्यसपछि बुधबार सत्तारुढ दलका पुष्पकमल दाहाल र माधव नेपाल पक्षधरले राष्टपतिसँग विशेष अधिवेशन माग गरेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्ने र दाहाल, नेपालले संसद अधिवेशनको माग फिर्ता गर्ने सहमति भएको थियो ।
तर, बिहीबार परिषद् बैठक बोलाएपछि त्यो सहमतिमा समेत प्रश्न उठेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।
बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।















प्रतिक्रिया