
काठमाडौं, २ पुस । रुपन्देही, सुनसरी र बाँकेमा भएको विभिन्न सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु. २ ख १४१५ नम्बरको माईक्रोबसले लु. ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित सडकमा बा. ५ ख ७६७ नम्बरको हाइसले को. २५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–११ का ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे. ९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका–३ लखनाका १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारका लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ ।
दुर्घटनाकामा परेका सबै सवारीसाधान र सवारी चालकहरुलाई पक्राउ गरी घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले बताएको छ ।















प्रतिक्रिया