३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ ।

स्रोतका अनुसार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसद अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष सत्तारुढ दलकै ८३ जना सांसदले बुझाएको अनुरोधपत्र फिर्ता लिने दुई अध्यक्षबीचको सहमतिसँगै आज छलफलको वातावरण बनेको हो ।

यद्यपि, भेटवार्ताको समय भने निर्धारण भइनसकेको बताइएको छ ।

अब हुने भेटवार्ता र छलफललले पार्टीभित्र लामो समयदेखि चल्दै आएको विवादसमेत समाधान गर्ने अपेक्षा गर्न थालिएको छ ।

हिजो बुधबारको स्थायी समिति बैठकमा सहमति गर्दै दुबै पक्ष एक कदम पछि हटेका थिए । त्यसँगै दुई अध्यक्षबीच सम्वादको वातावरण समेत बनेको छ । यसलाई पार्टीभित्र विवाद समाधानको टर्निङ प्वाइन्टको रुपमा समेत लिएको देखिन्छ ।

नेकपामा आन्तरिक विवाद चलिरहेको समयमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि परिस्थिति थप असहज बनेका थियो ।

त्यसैको काउन्टरमा प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसद अधिवेशन माग गर्दै ८३ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा पुगेपछि सहमतिको वातावरण बनेको हो ।

आज अध्यक्षद्वयबीच हुने छलफलपछि परिषद्को बैठक र संवैधानिक नियुक्तिका विषयमा निर्णयमा पुग्ने बालुवाटार स्रोतको भनाइ छ ।

हिजोको बैठकमा नियुक्तिहरु पार्टीमा छलफल र सहमतिपछि मात्रै गर्न ओली सहमत भएका थिए ।