काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ । बैठक बस्ने भनिए पनि अध्यक्ष केपी ओली सहभागी हुने वा नहुने केही भनिएको छैन ।
सहमति खोजीका लागि भन्दै बैठक स्थगित गरिएको थियो । यसबीचमा सहमति खोज्न नेताहरूका बीच खासै पहल भएको छैन ।
दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरूले बताएका छन् ।
२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाएका थिए ।
मंसिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरूबीच विवाद हुँदै आएको छ ।
सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी समितिको बैठकमा प्रवेश गरेको हो । स्थायी समितिको बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ ।











प्रतिक्रिया