२ कार्तिक २०८३, सोमबार

‘पौडेलमाथिको हर्कत लोकतन्त्रमाथिको प्रहार हो, गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेससम्वद्ध नेपाल महिला संघले नेता रामचन्द्र पौडेलमाथि भएको हर्कत लोकतन्त्रमाथिको प्रहार भएको बताएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरेर संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेको छ । सरकारले बद्नियतपूर्ण दुर्व्यवहार गरी आफ्नो पार्टीका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु, तनहुँका कांग्रेस कार्यकर्तालाई वर्वरतापूर्वक लाठीचार्ज र अश्रुग्यासको प्रहार गर्नुलाई लोकतन्त्रको खोल ओढेर वर्वर तानाशाही प्रवृत्तिको आक्रमण भएको संघको भनाइ छ ।

‘नेपाली कांग्रेसका आदरणीय वरिष्ठ नेता रामचन्द्र पौडेललाई हिजो (बुधबार) तनहुँमा एक पुलको उद्घाटन गर्न जाँदा यो सरकारले बद्नियतपूर्ण दुर्व्यवहार गरी गिरफ्तार गर्यो’, विज्ञप्तिमा लेखिएको छ, ‘साथै उहाँसँगै गएका तनहुँका कांग्रेस कार्यकर्ताहरुलाई लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गर्यो । यो लोकतन्त्रको खोल ओढेर वर्वर तानाशाही प्रवृत्तिको आक्रमण हो । यो लोकतन्त्रमाथिकै प्रहार हो ।’

यस्तै संघले घटनाका दोषीउपर कडा कारवाही गर्न सरकारसँग आग्रह गर्दै गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले राजीनामा दिनुपर्ने तर्क समेत अगाडि सारेको छ । ‘नेपाल महिला संघ यस निन्दनीय घटनाको घोर भर्त्सना गर्दछ । दोषीउपर कडा कारवाहीको माग गर्दै गृहमन्त्रीको राजीनामाको समेत माग गर्दछ’, संघकी अध्यक्ष उमा रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो लोकतन्त्रविरोधी कार्य गर्ने सरकारको यस्ता कदमको विरुद्ध सडक आन्दोलन गर्ने समेत चेतावनी दिइन्छ ।’

तनहुँको व्यास नगरपालिकाका दुई वटा वडा जोड्ने पुल उद्घाटनका लागि त्यहाँ पुगेका पौडेल बुधबार प्रहरीको नियन्त्रणमा परेका थिए । यद्यपि, उनी बुधबार साँझै रिहा पनि भइसकेका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यका अनुसार निषेधाज्ञा लागू भएको अवस्थामा उल्लंघन गरेपछि पौडेललाई सुरक्षालाई समेत दृष्टिगत गरेर नियन्त्रणमा लिइएको थियो ।

साथै केन्द्र सरकारबाट निर्माण भएको पुल जिल्लामा समन्वय नगरेर उद्घाटन गर्न खोजिएपछि स्थिति असमान्य बनेको र स्थितिलाई नियन्त्रणमा राख्न उक्त कदम उठाउनुपरेको आचार्यको भनाइ छ ।

यी समाचारहरु पनि पढ्नुहोस्–