
स्याङ्जा, २८ कात्तिक । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) स्याङ्जाका विकास निर्माणका आयोजनाहरुको निरिक्षण गरेकी छन् ।
मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गरेकी हुन् । उनले वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गरेकी हुन् ।
कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीती रहेको मन्त्री अर्यालले बताइन् ।
स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई छ ।
त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन् । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पुरयाउन छिट्टै योजना ल्याउने उनले बताइन् ।
यसैगरी मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरिक्षण गरेकी छन् । मन्त्री अर्यालले चापाकोटको सिटि हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरिक्षण गरेकी छन् ।
चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ । बहुवर्षिय योजना अन्र्तगत सिटि हल निर्माणका लागी आर्थिक वर्ष २०७६/०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७/०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भईसकेको छ ।
सिटि हल २०७७ फाल्गुन २१ गते भित्र भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो । कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुँने भएको छ ।
अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधि प्रवृत्ति भएको बताइन् । यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अव कोरोनासंग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताइन् । यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गर्नुभएको थियो ।
कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिएकी हुन् ।















प्रतिक्रिया