चरीकोट, ९ चैत । दोलखावासीका लागि आह्वान गरिएको १० प्रतिशत सेयर अनिश्चितकालका लागि स्थगित भएसँगै स्थानीयवासीले आन्दोलन स्थगित गरे पनि माथिल्लो तामाकोसी आयोजनामा कार्यरत मजदुरहरुको आन्दोलन जारी रहेको छ ।
आयोजनाका प्रभावित गाविसहरुले गर्दै आएको आन्दोलन शनिबार विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि सेयर वितरण तत्काल रोक्ने जनाएसँगै आन्दोलन फिर्ता भएको हो ।
स्थानीय समन्वय समितिको निर्णयअनुसार थप सेयर पाउनुपर्ने भन्दै बिगत एक साता अघिदेखि आन्दोलित भएका थिए । जिल्ला समन्वय समितिले उत्तरी क्षेत्रका पाँच गाविसलाई १५ प्रतिशत साधारण सेयरबाट हुन आउने २५ प्रतिशत थप सेयर दिने निर्णय भएको थियो ।
स्थानीयको आन्दोलन फिर्ता भए पनि मजदुरहरुको आन्दोलन भने यथावत रहेको छ । थोरै भए पनि सेयरको व्यवस्था नभएसम्म आन्दोलन स्थगित नगर्ने मजदुर नेता रोशन खड्काले जानकारी दिए ।
उनले आयोजनासँग भएको वार्ता पटक पटक विफल हुनुमा आयोजना दोषी भएको भन्दै उचित विकल्प नदिएसम्म काममा नर्फने बताएका छन् । उनीहरुले आयोजना प्रमुख विज्ञान श्रेष्ठको कार्यक्षमताप्रति प्रश्न उठाउँदै आएका छन् । आयोजनाका प्रवक्ताले आफूहरुसँग वार्ता गर्दा ठोस निर्णय दिन नसकेको भन्दै उनीहरुले आयोजना प्रमुख श्रेष्ठ आयोजनास्थलमा आउनुपर्ने माग गरेका छन् । यस्तै आयोजना प्रमुख श्रेष्ठले राजीनामा दिनुपर्नेसमेत आवाज उठाइरहेका छन् ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको देशकै सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोशी आयोजना विगत ८ दिनदेखि बन्द रहेको छ । आयोजना निर्माता सिनो हाइड्रोभित्र कार्यरत मजदुरहरुले पाँच सय कित्ता सेयर माग गर्दै आएका छन् ।
कम्पनीको प्रबन्धपत्रमै मजदुरहरुलाई सेयरको व्यवस्था नगरिएकाले उनीहरुको माग कुनै पनि हालतमा सम्बोधन गर्न नसक्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेको भनाइ रहेको छ ।















प्रतिक्रिया