
काठमाडौं, २२ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबारदेखि ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान शुरू गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज शनिबार एक कार्यक्रमकाबीच उक्त अभियानको शुभारम्भ गरेका छन् । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भदौ १६ गतेदेखि महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ ।
सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको हो ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हर जनको हर परिस्थितिको साहारा, अत्यन्तै प्रिय साथी भएकाले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकाले यो अभियान शुरू गरिएको बताए ।
उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।
उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति देखाएका थिए ।
कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।
महाशाखालेगीत संगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरिएको छ । सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भीडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिबाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइने छ ।

दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिने छ ।
प्रत्येक आधा घण्टामा कम्तीमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजार भन्दा बढिले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ ।
यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरुले आ-आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रबाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगितिक डमि राख्दै लैजाने योजना रहेको छ ।
महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारवाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ ।
महाशाखाले सडक सचेतना सँगसँगै सडकको वैज्ञानिक विकास र कानुनको कार्यान्वयनलाई एकैसाथ अगाडि बढाईराखेको छ भने सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारङ्गी टोली, प्लेकार्डरफ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालक उपर दैनिक कक्षा, स्कुल/कलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतनापनि प्रदान गरिरहेको छ ।















प्रतिक्रिया