– घनश्याम पौडेल
अर्घाखाँची, ८ चैत । अर्घाखाँचीको पणेनाका बासिन्दाहरुले सामुहिक कुखुरापालन सुरु गरेका छन् ।
वैदेशिक रोजगारीको लागि युवाहरु विदेश पलायन भई सिङ्गो गाउँनै सुनसान हुन थालेपछि यहाँका बासिन्दाहरुले कृषक समूह बनाई कुखुरापालन र तरकारी खेती गर्न थालेका हुन् ।
पणेना -७ को डुम्रीबोटमा वार्षिक २५ हजार रुपैया दिने गरी ९ रोपनी खेतमा लिजमा लिएका उनीहरुले ८ जनाको कृषकसमूह बनाइ कुखुरापालन र तरकारी खेती गर्न सुरु गरेका छन् ।
हालसम्म ४० लाख रुपैया लगानी भएको समुहका अध्यक्ष पिताम्वर पोख्रेलले बताउनुभयो । कृषकहरुले एकपटकमा ६ हजार कुखुरा पाल्न मिल्ने गरी ३ वटा टहरा बनाएका छन् ।
हाल आफ्नो फारममा ३ हजार ५ सय लेहर्स जातको कुखुरा रहेको पोख्रेलको भनाई छ । ल्याएको २० हप्तापछि अधिकांश कुखुराले अण्डा दिन थालेका छन् ।
अहिले सम्म २ हजार भन्दा बढी कुखुराले अण्डा दिन सुरुगरेको उहाँको भनाई छ । आगामी २ हप्ता भित्रमा सवै कुखुराले अण्डादिन थाल्ने उनीहरुको अनुमान छ ।
पणेनामा ठूलो परिणममा अण्डा उत्पादन हुन थालेपछि फर्ममै बुटवलबाट व्यापारी आएर प्रति अण्डा १० रुपैयाको दरमा थोक मुल्यमा लैजाने गरेको कृषकले बताए ।
समूहमा आवद्ध मध्ये समूहका अध्यक्ष पिताम्वर पोख्रेल नेकपा माओवादीको राज्य समिति सदस्य हुनुहुन्छ । सदस्यमा रहेका खगेन्द्रराज पोख्रेल नेपाली कांग्रेस अर्घाखाँचीका पुराना नेता तथा पूर्व जिविसका सभापति हुनुुहुन्छ ।
अर्का सदस्य पुस्करनाथ पोख्रेल नेरा मावि पणेनाका प्रधानाध्यापक हुनुहुन्छ । उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, सचिव हुमाकान्त पोख्रेल पनि शिक्षक नै हुनुहुन्छ । समूहमा रहेका अरु सदस्यहरु पनि गाउँमा एउटा न एउटा जिम्मेवारी समाल्दै आएका समाजसेवी हुन् ।
अरु काम भन्दा कुखुरापालन व्यावसायमा राम्रो फाइदा हुने उनीहरुको बुझाई छ । रुपैयाँ पैसा कमाउन विदेशमा जानुपर्छ अथवा तस्करी वा भ्रष्टाचार नै गर्नुपर्छ भन्ने गलत धारणाको अन्त्य गरी गाउँमै स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गर्ने अभिप्रायले कुखुरापालन र तरकारी खेती सुरु गरिएको पूर्व जिविस सभापति खगेन्द्रराज पोख्रेलले बताउनुभयो ।
समुहले मासिक ६ हजार रुपैयाँ तलब दिनेगरी ३ जना कामदार राखेको छ । उनीहरुले ४ रोपनी खेतमा लसुन र प्याज लगाएका छन् । अर्को महिना देखि मौसमी तथा वे–मौसमी तरकारी लगाउने तयारी भएको कृषकहरुको भनाई छ ।
एक वर्ष भित्रमा थप ५० रोपनी जग्गा लिजमा लिएर जर्सी गाई र बाख्रापालनको कामलाई समेत एकसाथ अगाडी बढाउने अध्यक्ष पोख्रेलले बताउनुभयो ।
गाउँमै नाम चलेका र इज्यत कमाएका प्रतिष्ठित व्यात्तिहरु कुखुरापालन र तरकारी खेतीमा लागेपछि अहिले सिङ्गगो पणेनाका बासीन्दाहरुले समेत आधुनिक खेती, कुखुरा पालन, गाईपालन, बाख्रापलन वा अन्य कुनै कृषिसँग सम्बन्धित काम गर्ने योजना बनाउन थालेका छन् ।
गाउँमा वैदेशिक रोजगारीबाट छुट्टीमा घरमा आएका युवा र पढेलेखेका युवाहरुले समेत जागिरको खोजी गर्न छाडेर कृषिमा लाग्ने बताएका छन् ।
आफ्नै बलबुताले गाउँमा कुखुरा पालन र तरकारी खेती गर्न सुरु गरेपनि कतैबाट सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ ।
















प्रतिक्रिया