काठमाडौँ, ८ चैत । केहीदिन पहिलेदेखि एकीकरणको प्रक्रिया सुरु गरेका एकीकृत नेकपा माओवादी र नेकपा-माओवादी अन्ततः एक हुने भएका छन् ।
दुबै माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज भएको बैठकमा माक्र्सवादको प्रयोग र रक्षा, पार्टीको तत्कालीन कार्यनीति, विगतका कमजोरीको समीक्षा, संसद्वादलगायत सात विषयमा छलफल भएको छ ।
छलफलले छिट्टै पार्टी एकीकरण गर्ने सहमति गरेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालीन विषयमा साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे पनि आजको बैठकमा सहमति भएको बताउनुभयो ।
माओवादी उपाध्यक्ष सिपी गजुरेलले बैठकमा सातबुँदे प्रस्ताव प्रस्तुत भई छलफल भएको र त्यसमा फेरि थप छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको बताउनुभयो । उहाँका अनुसार दुवै पार्टी अध्यक्षबीच छलफल भई अर्को वार्ताको मिति तय हुने छ ।
वार्ता कमिटी गठन भएपछि दुई पार्टीबीच पहिलो पटक आज वार्ता भएको हो ।
माओवादी पार्टी कार्यालय, बुद्धनगरमा भएको छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी हुनुभएको थियो ।
केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेका थिए ।














प्रतिक्रिया