
काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।
उनको भ्रमण नेपालको संविधानले निर्दिष्ट गरेको परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणा विपरीत भएको समेत बताएका छन् ।
केहीबेरअघि ट्विट गर्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका रावलले लेखेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर ‘रअ’ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ ।’
उनको नेपाल भ्रमण नेपालको कूटनीतिक मर्यादा विपरीत भएको भन्दै उनले लेखेका छन्, ‘गोयलको नेपाल भ्रमण कूटनीतिक मर्यादा विपरीत छ ।’
गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएर बिहीबार बिहान दिल्ली फर्किसकेका छन् ।
काठमाडौंमा रहँदा उनले कम्युनिष्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसँग भेट गरेको चर्चा चले पनि उनीहरुले सो कुराको खण्डन गरिसकेका छन् ।
यस्तै गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरिसकेका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया