
काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको दाबी गरेका छन् ।
प्रचण्डको सचिवालयले विज्ञप्ति निकालेर तथा माधव नेपालले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत गोयलसँग नभेटेको प्रष्ट पारेका हुन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको मात्रै होइन गोयल काठमाडौं आएकोबारे समेत भेरीफाइ नभएको जिकिर गरेका छन् ।
यस्तै वरिष्ठ नेता माधव कुमार नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् । ट्विटरमा उनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
बुधबार दिउँसो नेपाल आएका रअ प्रमुख गोयल बिहीबार भारत फर्किसकेका छन् । गोयलको नेपाल भ्रमणले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।















प्रतिक्रिया