१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति डा.यादवले आज दलका नेताहरूसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Baran Yadavकाठमाडौं, ८ चैत । राष्ट्रपति डा रामवरण यादवले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

राष्ट्रपति कार्यालयले सम्वादका लागि भनेर संविधानसभामा तीनभन्दा बढी सभासद्को प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई छलफलका लागि पत्र लेखेरै आमन्त्रण गरेको हो । सो छलफलमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमेत सहभागी हुने छन् ।

राष्ट्रपति डा यादवको यही चैत १२ गते देखि १८ गतेसम्म हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणलाई केन्द्रित गरेर छलफलका लागि आमन्त्रण गरिएको बताइएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन राष्ट्रपति डा यादव त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ ।

संविधानका अन्तरवस्तुमा प्रमुख दलहरूबीच सहमति हुन नसकेर संविधान लेखनको कार्य अगाडि बढ्न नसकिरहेको अवस्थामा राष्ट्रपति डा यादवको चीन भ्रमणका समयमा यस विषयमा मित्रराष्ट्रका नेताहरूबाट उठ्न सक्ने जिज्ञासालाई कसरी सम्बोधन गर्ने भनेर सल्लाह र सुझाव लिन छलफलका लागि आमन्त्रण गरेको अनुमान गरिएको छ ।

छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन/तीन जनालाई आमन्त्रण गरिएको छ । कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ ।

यस्तै, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपति डा यादवबाट हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणको पूर्वसन्ध्यामा राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।