भक्तपुर, ३ कात्तिक । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।
काठमाडौं उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भइ सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उनले उल्लेख गरे ।
असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया