काठमाडौँ, ७ चैत । एमालेको भातृ संगठन युवा संघको विवाद चर्किरहँदा शनिबार एकैसाथ काठमाडौँ र हेटौँडामा दुईवटा भेला भए । पार्टी भित्र गुटबन्दी अन्त्य भएको दाबी गर्दै आएका एमालेका केन्द्रीय नेताहरु नै दुई खेमामा विभाजित भएका छन् ।
हेटौँडामा एमाले युवा संघको संस्थापन पक्षले बृहत आमसभा तथा विस्तार बैठक आयोजना गरेको छ भने काठमाडौँमा पुष्पलाल, मदन भण्डारी केन्द्रीय पुस्ताकालयको ब्यानरमा असन्तुष्ट पक्षले अर्कै भेला गरेको छ ।
हेटौँडा हेटौँडाको भुटनदेवी चौरमा भएको आमसभा तथा विस्तार बैठकलाई एमालेका उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई एमाले स्थायी समिति सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य भानुभक्त ढकाल, उद्योगमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य वलबीर चौधरी र केदार न्यौपाने, एमाले मकवानपुरका अध्यक्ष आरसी राई लगायतले पनि सम्बोधन गरेका थिए ।
यता काठमाडौँको बागबजारमा भएको भेलामा माधवकुमार नेपाल, सचिव योगेश भट्टराई, पशुपति चौलागाइँ र रामकुमारी झाँक्री लगायतका नेता सहभागी भए।
संघको अध्यक्ष हुँदाहुँदै महेश बस्नेत मन्त्री बनेपछि युवा संघको अध्यक्ष निरु पाल भएकी थिइन् । संस्थापन पक्षले संघको रिक्त सचिवमा बचन सिंहलाई सचिवमा मनोनित गरेपछि संघ फुटने संघारमा पुगेको हो । संघको विधि र प्रक्रियालाई मिचिएर जबरजस्ती मनोनित गरिएको असन्तुष्ट पक्षको दाबी छ । अहिले संघमा अध्यक्ष केपी ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षको रुपमा युवाहरु विभाजित भएका छन् । उपाध्यक्ष दिलु पन्तले असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएकी छिन् । शनिबार बागबजारमा भएको भेलाको अध्यक्षता पनि उनी आफैले गरेकी थिइन् ।
बागबजारमा भएको भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले काठमाडौंमा गरिएको भेला संघ फुटाउनलाई नभई जुटाउनलाई गरिएको दाबी बताए । पछिल्लो समयमा अपराध गर्ने मनसायका व्यक्तिहरू युवा संघमा हावी रहेको दावी गर्दै नेपालले त्यसलाई संघबाट पूरै परास्त गरिने बताए ।
हेटौडाको भेलालाई सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले विधानसंगत रुपमै हेटौँडामा विस्तारित बैठक र आमसभा आयोजना गरिएकाले आफूहरु सहभागी भएको बताए ।
‘तपाईंहरु विधि, विधान र पद्दतिलाई टेकेर जानु भएको छ । जसले विधि, पद्दति मान्दैन, त्यो शक्ति पराजित हुन्छ ।, महासचिव पोखरेलले भने, ‘तपाईंहरु मिलेर जानुको विकल्प जाने हो । तर, मिल्ने भनेको विधि विधान अन्तर्गत नै हो । ’

















प्रतिक्रिया