
काठमाडौं, २६ असोज । विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालले बुढीगण्डकी भ्रष्टाचारको आरोपबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडेर बाहिर आएका कुराहरुमा उजुरीको प्रतिक्षा नगरी छानविन शुरु गर्न उनले आग्रह गरेका छन् ।
केही दिनअगाडि गोरखामा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘बुढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्बरुपैयाँ बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन उनले आग्रह गरेका हुन् ।
‘आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्वप्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अख्तियारमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न उनले अनुरोध गरेका छन् ।
साथै यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये २ जना भूतपूर्व र १ जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि अख्तियारको ध्यान जानु जरुरी रहेको उनको भनाइ छ ।
यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषय समेत भएकाले अख्तियारले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्नेमा उनको जोड छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको बताएका थिए ।
गत बिहीबार भट्टराईले गृहजिल्ला गोरखा पुगेर उनले यस्तो अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट औपचारिक कुनै प्रतिक्रिया आएको छैन । तर, नेपाली कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गरी उक्त भ्रष्टार भएको सप्रमाण पुष्टि गर्नाका साथै त्यसमा सभापति देउवाको संलग्नता पुष्टि गर्न पनि चुनौती दिएको छ ।
यद्यपि, भट्टराईले भने यस्तो मुद्दामा सबैले मिलेर प्रमाण खोज्नुपर्ने प्रतिक्रिया सञ्चारमाध्यममार्फत दिँदै आएका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया