१ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईलाई भिम रावलको प्रश्न– भ्रष्टाचारको प्रमाण अख्तियारलाई बुझाउनुभयो ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री भिम रावलले बहालवाला तथा पूर्वप्रधानमन्त्रीहरुले भ्रष्टाचार गरेको भनिएको प्रमाण अख्यिातरलाई बुझाएको हो कि होइन भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरुले गरेको भ्रष्टाचार पुष्टि गर्न आग्रह गर्दै नेता रावलले सोमबार ट्विट गर्दै लेखेका छन्, ‘डा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू. ९ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभी मार्फत आग्रह गरेको थिएँ । त्यसो गरियो कि गरिएन ?’

जिम्मेवार व्यक्तिले दिएको सार्वजनिक अभिव्यक्ति पुष्टि गर्नुपर्ने र गर्न नसकिए स्वयं आफैं गैरजिम्मेवार ठहरिने बताउँदै उनले लेखेका छन्, ‘त्यो प्रमाण अख्तियारमा बुझाइएको छैन भने भने उहाँ गैरजिम्मेवार ठहरिनु हुने छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको बताएका थिए ।

गत बिहीबार भट्टराईले गृहजिल्ला गोरखा पुगेर उनले यस्तो अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट औपचारिक कुनै प्रतिक्रिया आएको छैन । तर, नेपाली कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गरी उक्त भ्रष्टार भएको सप्रमाण पुष्टि गर्नाका साथै त्यसमा सभापति देउवाको संलग्नता पुष्टि गर्न पनि चुनौती दिएको छ ।

यद्यपि, भट्टराईले भने यस्तो मुद्दामा सबैले मिलेर प्रमाण खोज्नुपर्ने प्रतिक्रिया सञ्चारमाध्यममार्फत दिँदै आएका छन् ।