– कमलराज भट्ट
काठमाडौँ, ७ चैत । सुशासन पालनाको अख्तियारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको छोरीको बिहेको चर्चा यतिबेला सेलाएको छ । केही समय अघिसम्म लोकमानले अख्तियारबाटै छोरीको बिहे गर्नु ठीक थियो र थिएन भन्नेमा तीव्र मतहरु बाझिएका थिए । सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म यस्ले राम्रै बहस पायो । तर, काठमाडौँमै भव्य महल भएका लोकमानले छोरी अन्माउन अख्तियारकै आँगन रोज्नुको बाध्यता के थियो ? त्यतिबेला खासै खोजी गरिएन् । उनका एक आफन्तले दैनिक नेपालसँग यस विषयमा केही कुराको खुलासा गरेका छन् ।
स्रोतहरुका अनुसार, रबाफ देखाउन उनले कार्यालयबाटै छोरीको बिहे गरेका हैनन् । कार्यालयबाटै छोरीको बिहे गराउनु उनको बाध्यता हो । काठमाडौँको बानेश्वर हाइटमा लोकमान र उनका भाइ दानमानसिंह कार्कीको छुट्टाछुट्टै घर छ । भाइ किष्ट मेडिकल कलेजका प्रबन्ध निर्देशक पनि हुन् ।
एक रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको लोकमानको भव्य महल छ । त्यहाँ बिहे गर्दा घरमा रहेका धेरै बहुमुल्य कुराहरु सार्वजनिक हुने र त्यसले थप समस्या पैदा गर्ने भएकोले घरबाट छोरीको बिहे गर्न डराएको एक आफन्तले बताए ।
‘देशमा सुशासनको जिम्मेवारी पाएको व्यक्तिकै घर र सम्पत्तिका विषयमा प्रश्न उठे आफूलाई थप संकट पार्ने डरले उनी आत्तिए । त्यसैले घरबाट बिहे नगरेका हुन् ।’ उनले भने, लोकमान सम्पत्ति लुकाउन आफ्नो घरको आगँनमा कसैलाई टेक्न दिँदैनन् । अख्तियार प्रमुख नहुँदा पनि उनको घरमा कमै मानिसले प्रवेश पाउने गरेका थिए । झन् बिहेमा बोलाएपछि पाहुनालाई यसो गर्, उसो नगर् भन्न भएन् । धेरै कुराहरु बाहिर आउन सक्थ्यो । त्यहीबाट बच्न उनले सावधानी अपनाए ।’
यसो त लोकमानले आफ्नो घर काठमाडौँका एक चर्चित व्यापारीलाई भाडामा दिएका छन् । जहाँ उनले गोप्य रुपमा मोबाइलको गोदाम संचालन गरिरहेका छन् । ‘लोकमानले आफ्नो महललाई नेपालमै नाम चलका मोबाइल कम्पनीका मालिकलाई भाडामा दिएका रहेछन् । त्यो सुन्दा छांगाबाट खसेझैँ भयो ।’ दैनिक नेपालसँग ती आफन्तले भने, ‘घरमा बिहे गरेको भए व्यापारीहरुसँगको यो साँठगाँठ पनि बाहिर आउन सक्थ्यो ।’
कार्कीले तत्कालिन दरबारको निगाहमा जागिर सुरु गरेका हुन् । बहुदल आएपछि राजपरिषद्को साँघुरो घेराबाट गिरिजाप्रसाद कोइराला सरकारले तत्कालीन अर्थमन्त्री महेश आचार्यका समेत जिल्लावासी कार्कीलाई राजश्व अनुसन्धान महाशाखाको महानिर्देशक बनायो। त्यतिबेलादेखि नै उनको व्यापारीहरुसँग घाँटी जोडिएको हो । त्यहाँ काम गर्दा उनले कतिपय व्यापारीहरुप्रति आग्रह र पूर्वाग्रह देखाएर सम्पत्ति जोडेको आरोप लाग्ने गरेको थियो । अख्तियार प्रमुख भएपछि पनि उनले व्यापारीहरुसँग साँठगाँठ छाडेका छैनन् । उनले गोप्य रुपमा व्यापारीलाई घर भाडामा दिनुले पनि यसको पुष्टि गर्छ ।
‘लोकमानले छोरीको बिहेमा दाइजो दिएनन्, ५१ जना भन्दा बढी जन्ती पनि बोलाएनन् । आफन्तबाहेक मन्त्री, नेता र शक्ति केन्द्रलाई पनि सम्झेनन् । त्यो राम्रै कुरा हो । तर, अख्तियारकै आँगनबाट जसरी बिहे गरेर विवादमा फसे, घरबाटै बिहे गरेको भए त्यो भन्दा बढी विवाद हुने पक्का थियो ।’ नाम उधृत नगर्ने शर्तमा ती आफन्तले भने ।
धनकुटा फलाँटेका लोकमान पछि विराटनगर पोखरिया झरेका थिए । जेठ दाई जगतबन्धु कार्की अहिले पनि विराटनगरमै छन् । दुहबीमा केही जग्गा थियो, अहिले भागबण्डा भइसकेको छ ।
जेठी छोरी डा. आध्या कार्कीको फागुन १३ गते बिहे भएपनि कान्छी छोरी आकृति अष्ट्रेलियामा छिन् । छोरा अभिदयमानसिंह कार्कीले भर्खरै प्लस टू सकेर बसेका छन् ।
निजामती सेवामा २४ बर्ष जागिर गरेका लोकमान उपसचिव, सहसचिव हुँदै शाहीकालमा मुख्यसचिव भएका थिए । शाहीकालको भूमिका कारण विवादकै बाबजुद २०६५ सालमा सेवाबाट नियमित अवकाश पाएका उनलाई गणतान्त्रिक सरकारले फेरि अख्तियारको प्रमुख बनाएर डाडुपन्यू सुम्पिदिएको हो । पञ्चायतकालमा होस् या शाही शासन । उनी पटकपटक चर्चामा रहे । अहिले पनि अनेक कारण चर्चामा आइरहन्छन् ।
नेपाली सेनाको जनरल परिवारका सन्तान लोकमान रुखो स्वभावका चतुर खेलाडी मानिन्छन् । केही समय अघि सुपारीकाण्डमा लोकमानले पत्रकारसमेत थुन्न समेत लगाएका थिए । सवालजवाफका बेला अप्ठेरोमा परेपछि लोकमानले प्रहरी लगाएर थुनेका थिए ।


















प्रतिक्रिया