मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आजदेखि देशभर सहुलियत पसल सञ्चालन, के–के पाइन्छ ?

मंसिर ८ गतेसम्म खुल्ने पसलमा खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रुपैयाँ छूट

दैनिक नेपाल २०७७ असोज १५ गते ९:०३

फाइल तस्वीर

काठमाडौं, १५ असोज । सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

दशैं, तिहार, छठ पर्व तथा ल्होसारलाई समेत लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलमा खाद्यान्नलगायत सामग्री विक्रीवितरण हुने छ ।

साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यू, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायत खाद्यान्न सामग्री उपलब्ध गराइने छ ।

‘यस्ता सुपथ पसलमा अरू पसलमा भन्दा सामग्रीमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छूट दिइने पनि बताइएको छ । यस्ता पसल सञ्चालन गर्ने ३ वटै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् समेत उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू विक्रीवितरण गरिने बताइएको छ ।

काठमाडौं उपत्यकाभित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् सेवा दिइने छ भने देशभरका अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्यूरोड, खुमलटाका साथै तोकिएका अन्य स्थानमा पसल खुल्ने छन् ।

सो पसलमा नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यू प्रतिलिटर ८७० रूपैयाँमा विक्री हुन्छ । नुन र चिनी भने प्रतिपरिवार ४ केजीका दरले मात्रै दिइने छ । त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ ।

यस्तै खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने छ । सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित