३१ आश्विन २०८३, शनिबार

नेपाली सेनाद्वारा विभिन्न स्थानमा निर्माण गरिएका ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ हस्तान्तरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नेपाली सेनाले विभिन्न ठाउँमा निर्माण गरेको ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’हरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरेको छ ।

जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई तीव्रता दिएको सेनाले मोरङ, रसुवा, जुम्ला र गोरखामा निर्माण गरिएका विभिन्न सामाजिक सेवाका आयोजनाहरु हस्तान्तरण गरेको बताएको छ ।

स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घरसहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले उक्त गाउँपालिकाका अध्यक्षलाई हाटबजार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालय र सेनाबाट रु ५०÷५० लाख रुपैयाँ तथा गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि १४ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो ।

रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको दुई दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ । गणले चोलाङपाटीमा प्रतीक्षालय र बुद्ध मन्दिरमा अस्थायी टहरा बनाएको सेनाले जनाएको छ ।

त्यहाँ तैनाथ कालीजङ्ग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईँकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा ३५ लाख ६ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

यस्तै जुम्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक र बहिरा माध्यमिक विद्यालय भवन, बास्केटबल कोर्ट तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त कार्यका लागि सेनाबाट २५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

गोरखामा तैनाथ रणसिंह दलले २५ लाख रुपैयाँको लागतमा त्यहाँस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासीय विद्यालयमा चार कोठे भवन र विद्यालयको पर्खाल निर्माण गरी हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

तस्वीरहरु : नेपाली सेना