३१ आश्विन २०८३, शनिबार

महाधिवेशन केन्द्रित हुँदै राप्रपा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । पार्टी एकतापश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ ।

पार्टीले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ । राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनोट हुने छ । महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेशसभा क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

प्रत्येक प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट ८ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने छ । प्रतिनिधिमा महिला, जनजाति, उत्पीडित, थारु र पिछडिएको वर्गको सहभागिता सुनिश्चित गरिएको राप्रपाले बताएको छ । महाधिवेशन प्रतिनिधि बन्नका निमित्त गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्यूनतम सक्रिय सदस्य संख्या निर्धारण गरिएको छ ।

तोकिएको सदस्य संख्या भन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत नीति बनाइएको छ । पार्टी अध्यक्षत्रयको उपस्थितिमा सोमबार महाधिवेशन केन्द्रित विशेष कार्ययोजना प्रस्तुत गरेका छन् ।

पार्टीको बैधानिक व्यवस्था, सांगठानिक अवस्था र सक्रिय सदस्यता अभियानबारे बोल्दै अध्यक्ष कमल थापाले कार्यतालिका र समयसीमालाई दृष्टिगत गर्दै महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै बैकल्पिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभावहीन भूमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नु पर्ने विचार व्यक्त गरे । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आबश्यक्ता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशव्यापी बनाउनु पर्ने विचार व्यक्त गरे ।

आगामी महाधिवेशनमा प्रबासबाट समेत प्रतिनिधि सहभागी हुने छन् । करिब ५ हजार महाधिवेशन प्रतिनिधिको सहभागिता रहने केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।