३१ आश्विन २०८३, शनिबार

काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित ३ जना फरार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १० असोज । ठगीको उजुरी परेपछि बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन् ।

उनीहरूविरूद्ध साता दिनअघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनीयरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्धा दर्ता गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । ‘पक्राउ पूर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ’, इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने ।

उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पूर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पूर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो ।

उनले भने, ‘आरोपितहरु पक्राउ पूर्जी जारीलगत्तै काठमाडौँमा लुकेको आशंका छ, हामी उनीहरूलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौँ । आरोपित सबै बनेपा निबासी हुनुहुन्छ ।’

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले क्याप्पस प्रमुखको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।

प्रहरी अनुसन्धानका लागि सात महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए । पराजुलीका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

‘राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्यूटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो’, पराजुलीले भने ।

क्याम्पसले पाठ्यक्रम विकास केन्द्र र तत्कालिन राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको पाठ्यक्रम बगेर आफुखुसी विषय राखी स्नातक तहमा कम्प्यूटर इन्जिनीयर बन्न पाउने झुटो आश्वासन दिई कम्प्यूटर इन्जिनीयरिङ (प्राविधिक)मा भर्ना लिएको र शैक्षिकशत्रको अन्त्यमा परीक्षा बोर्डको परीक्षालाई नै दोष दिई कक्षा ११ मा कम्प्यूटर इन्जिनीयरिङ विषयका विद्यार्थीमध्ये आधालाई कम्प्यूटर विज्ञान तथा आधालाई विज्ञान संकायतर्फ पठाएको अभिभावकको आरोप छ ।

‘क्याम्पस प्रशासनले कम्प्यूटर इन्जिनीयरिङ र कम्प्यूटर विज्ञान उस्तै हो भनेर विद्यार्थीलाई भ्रममा राखेको पाइयो’, पराजुलीले भने । क्याम्पस प्रमुख बैदारले भने केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्वत् ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दावी गर्दै आएका थिए ।

क्याम्पसका विभिन्न सङ्कायमा करिव एक हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ जना विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए । रासस