३१ आश्विन २०८३, शनिबार

रौतहटमा अन्धाधुन्ध खुकुरी प्रहार गरिंदा श्रीमतीको ज्यान गयो, श्रीमान गम्भीर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १० असोज । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथि आक्रमण भएको छ ।

४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नी जगरामी देवीको मृत्यु भएको हो । हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतामा उपचार भइरहेको छ ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार साँझ खुकुरी लिएर आएका समूहले महेशलाई मार्ने धम्की दिएर गएका थिए । लगत्तै महेशले तत्काल इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा यो कुराको जानकारी गराएका थिए ।

तर, उनको फोनलाई प्रहरीले बेवास्ता गर्यो, आधा घण्टापछि सो समूह आएर दम्पतीमाथि आक्रमण गरेको बताइएको छ । घटनामा श्रीमानलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भएको प्रहरीले बताएको छ ।

असारमा मुखिया परिवार र दुवे परिवारबीच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो । सोही कारणले उनीहरुमाथि आक्रमणमा उत्रिएको हुनसक्ने प्रहरीको अनुमान छ ।