
नवलपरासी, ९ असोज । मदारबाबा मेला सञ्चालन गर्दै आएको संस्था कुतबुल मदार शाह दरगाह कमेटी सुस्ता–२ नवलपरासीका सचिव अजमुद्धिन मिया निलम्बनमा परेका छन् ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले साविक मदरसा इस्लामिक कुतबुल मदार शाहका पूर्वअध्यक्ष जमालुद्धिन अन्सारीविरुद्ध विद्यान विपरित कार्य गरी आर्थिक अनियमितता गरेको भनी परेको उजुरीमा अनुसन्धान थालेपछि अनुसन्धान प्रभावित हुने भन्दै संस्थाले गत आसोज ४ गते नै सचिव मियालाई निलम्बन गरेको आज परासीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
विगतमा मदारबाबा मेला सञ्चालन गर्ने क्रममा दुई वटा संस्थाबीच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वय र पहलमा एकीकृत साधारणसभा गरी संस्थाको नाम पनि परिवर्तन गरिएको थियो । सोही साधारणसभाबाट पदच्यूत भएका जमालुद्धिन अन्सारीले लाखौं आर्थिक अनियमितता गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

निलम्बित मिया अन्सारी नेतृत्वको समितिमा पनि सचिव र हालको समितिमा पनि सचिव रहेका रहेका थिए । त्यसबखत अध्यक्ष अन्सारीसँगै सचिव मियाको नामबाट पनि बैंक खाता सञ्चालन हुँदै आएकोले अख्तियारको मुद्दा ओझेलमा पार्न अहिले निलम्बीच अजमुद्धिन मियाले विभिन्न प्रपञ्च बुनिरहेको संस्थाका अध्यक्ष नजामुद्धिन मियाले बताए ।
आर्थिक हिनामिनाको आरोप लागेको र संस्थाले समेत निलम्बन गरेको अवस्थामा अजमुद्धिन मियाले अनियमितताको आरोपबाट बच्न अवैधानिक रुपमा साधारणसभा गरी समितिको अध्यक्ष बनेको संस्थाका अध्यक्ष नजामुद्धिन मियाले बताए । जबकी संस्थाले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै गत जेठ १० गतेको बैठकबाट यस वर्षको साधारणसभा नगर्ने भनी निर्णय गरेको अवस्थामा गरिएको साधारणसभा पनि गैरकानूनी रहेको अध्यक्ष मियाले बताए ।
निलम्बित मियाले भने बिहीबार बेलाटारीमा संस्थाको नाममा चौथो साधारणसभा गरी अध्यक्ष बनेको घोषणा गरेका थिए ।
कुतबुल मदार शाह दरगाह कमेटी सुस्ता–२ नवलपरासीले यसवर्ष साधारणसभा नगरेकोले भ्रममा नपर्न पनि आग्रह गरेको छ । कोभिड १९ को महामारीका कारण साधारणसभा गर्न नपाएपनि लेखापरीक्षण तथा नवीकरणको काम गरिसकेको संस्थाका कोषाध्यक्ष रियाजुलहक अन्सारीले जानकारी दिए ।















प्रतिक्रिया