
काठमाडौं, ९ असोज । कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले घटना भएको ५ वर्षपछि पक्राउ गरेको छ ।
हाल काठमाडौंको मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २४ वर्षीय रविकुमार यादवलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यादवले २०७२ वैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका–५ लेले फैडोल सामुदायिक वनमा सुनसरीकी २६ वर्षीय आरती परियारको हत्या गरेका थिए । इटहरी नगरपालिका–४ घर भई ललितपुर चापागाउँ बस्ने परियारलाई धारिलो हतियार प्रहार गरी भएको हत्याकाण्डमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले मैतिदेवीबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुलेको प्रहरीले बताएको छ । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको छ ।















प्रतिक्रिया