३१ आश्विन २०८३, शनिबार

डा. गोबिन्द केसीसँग तुरुन्त वार्ता गर्न विवेकशील नेपाली दलको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । विवेकशील नेपाली दलले अनशनरत डा. गोबिन्द केसीसँग तुरुन्त वार्ता गरी उनको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

सहमति भएका मागहरु कार्वान्वयन नगरिनु र सोका लागि फेरि सत्याग्रह गर्ने अवस्था सरकारी पक्षबाट सृजना गरिएकोप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्तो आग्रह गरेको छ ।

‘सत्याग्रहको १२औं दिनसम्म आइपुग्दा सम्बन्धित पक्ष डा. केसीका मागहरुप्रति संवेदनशील र जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुन नसक्नु खेदपूर्ण ठान्दै विवेकशील नेपाली दल डा. केसीसँग तुरुन्त वार्ता सुरु गर्न सरकारसँग माग गर्दछ’, शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो दलले भनेको छ ।

१९औँ सत्याग्रहको क्रममा अनसनरत जुम्लाको एक मन्दिरबाट मध्यरातमा जबरजस्ती रूपमा प्रहरीले उठाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान पुर्याएको र जुम्लाबाट काठमांडौं ल्याउने क्रममा काठमाडौं विमानस्थल बाहिरबाट प्रहरी प्रशासनले डा. केसीमाथि बल प्रयोग गर्दै जबरजस्ती ट्रमा सेन्टरमा लगिनु खेदजनक व्यवहार भएको उक्त पार्टीले बताएको छ ।

यो घटनाले सरकार सत्याग्रहीमाथि कति दुराशयपूर्ण विचार राख्ने रहेछ भन्ने प्रमाणित भएको विवेकशील नेपाली दलको भनाइ छ । ‘सभ्य समाजमा अस्वीकार्य ती व्यवहारका लागि सरकारले डा. केसीसमक्ष निःशर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाओस्’, विज्ञप्तिमा लेखिएको छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनका लागि भन्दै डा. केसी अभियानकै रुपमा २०६९ सालदेखि अहिलेसम्म १९औँ पटक सत्याग्रहमा बसिसकेका छन् ।

विगतमा सरकारसँग भएका सहमतिहरु इमान्दारिताका साथ पालना नभएको भन्दै पछिल्लो पटक १२ दिनदेखि डा. केसी १९औंं पटकको सत्याग्रह बसिरहेका छन् ।