३१ आश्विन २०८३, शनिबार

‘प्रधानमन्त्रीज्यू हेक्का रहोस्, नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय संवैधानिक परिषद् नभएको बताएका छन् ।

नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको भन्दै उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराउँदै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू हेक्का रहोस्, नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !’

‘नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ’, बिहीबार एक प्रेस नोट जारी गर्दै उनले भनेका छन्, ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।’

संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिनु तथा अध्यादेश मार्फत संवैधानिक परिषद्कै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र गरेको आरोप उनले नेकपालाई लगाएका छन् । ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ’, प्रेस नोटमा उल्लेख छ ।

संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपले अपिल र आग्रह गरेको छ ।

नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।