३१ आश्विन २०८३, शनिबार

एनआईसी एशिया बैंकले दिएको सहुलियत योजनाहरूको समयावधि सकिंदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई दिएको सुविधाअन्तर्गत भाखा नाघेका कर्जाहरूको ब्याजदर सहुलियत दरमा भुक्तानी गर्न अब २३ दिन मात्रै बाँकी छ ।

बैंकले कोभिड–१९ बाट ग्राहकमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजनाहरू ल्याएको थियो । शुरूमा २०७७ साउन मसान्तसम्मका लागि ल्याएको यो योजना बैंकले ३ महिना थप गरी असोज मसान्तसम्म लम्ब्याइएको थियो ।

सोही अन्तर्गत बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम असोज मसान्तभित्रै चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई कात्तिक १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

विद्यमान असाधारण समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको उक्त योजनामा सहभागी भइ फाइदा लिन अब २३ दिन मात्रै बाँकी रहेको बैंकले बताएको छ । समयमै मौकाको फाइदा उठाउन समेत बैंकले सम्बन्धित ग्राहकलाई आह्वान गरेको छ ।

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकको भनाइ छ ।

उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थितिपश्चात् देशको समग्र अर्थतन्त्रको पुनः उत्थान एवं सवलीकरणमा टेवा पुगी आम ग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकबाट कर्जा उपभोग गरेका तथा भविष्यमा बैंकसँग जोडिने ग्राहकका लागि सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना समेत गरेको बताएको छ ।