
सुर्खेत, ५ असोज । स्वास्थ्य क्षेत्रको सुधारसम्बन्धी विभिन्न माग राखेर जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।
केसीले आफूलाई अनशन स्थलबाट अपहरण गरेर राज्यले अस्पताल ल्याएको आरोप लगाउँदै अस्पतालको उपचार नलिने र माग पूरा नभए मृत्युवरण गर्न तयार रहेको बताएका हुन् ।
डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै सोमबार उनलाई भेट्न पुगेका विपक्षी दलता नेताहरुसँग उनले सो कुरा बताएका हुन् । जुम्लाको मष्टो मन्दिर परिसरमा भदौ २९ गतेदेखि अनशन शुरु गरेका डा. केसीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पुर्याएको छ ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।
यस्तै आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायत मागहरु राखेर डा.केसीले अनसन शुरु गरेका हुन् ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक रविकिरण हमाल, नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, साझा पार्टी कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाललगायत बिपक्षी दलका नेताहरूले डा. केसीको माग पूरा गरेर जीवन रक्षा गर्न माग गरेका छन् ।















प्रतिक्रिया