
काठमाडौं, ५ असोज । नेपालले चिया उत्पादन शुरु गरेको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ ।
‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।
‘कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ’, उनले भने, ‘पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।’ उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए ।
स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायत मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् ।
‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन’, उनले भने, ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।’ विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।















प्रतिक्रिया