२९ आश्विन २०८३, बिहिबार

तरकारीमा आत्मनिर्भर बन्दै जाजरकोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo tarkari
जाजरकोटको मटेलामा किसानहरुले गरेको तरकारी खेती ।

 

– बीरबहादुर गिरी
जाजरकोट ५ चैत । पहाडी जिल्ला जाजरकोट तरकारी उत्पादनमा आत्मनिर्भर बन्न थालको छ । गाउँ गाउँमा व्यवसायिक तरकारी खेती हुन थालपछि जिल्ला तरकारीमा आत्म निर्भर बन्न थालेको हो ।

अहिले किसानहरु धमाधम परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीतर्फ लाग्न थालेका छन् । परम्परागत खेतिबाट जीवन गुजरा चलाउन कठिन हुदा किसानहरु तरकारी खेतीतर्फ लागेका हुन् ।

तरकारी खेतीका लागि सरकारी, गैैरसरकारी निकायबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने क्रम बढेको छ । बिभिन्न निकायबाट आय आर्जनका लागि तरकारी खेती गर्न सहयोग हुन थालेपछि आफुहरु यसतर्फ लागेको जगतिपुर गाविस वडा नं २ काँसतराका कृषक केबल भारतीले बताए ।

सहयोग पनि हुने आम्दानी पनि राम्रो हुने अरु खेती किन गर्ने ? भारतीले प्रश्न गरे । आय आर्जनका लािग सहकारी संस्था, महिला समुह र किसान समुह व्यवसायिक रुपमा तरकारी खेतीतर्फ लागेका छन् ।

तरकारीबाट छोटो समयमा बढी आम्दानी हुने हुँदा समुह र संस्थागत तबरले खेती गर्न थालिएका हो । व्यवसायिक खेती थालिएका काँसतरा, कालेगाउँ, मटेला, इभर, रावतगाउँ लगायतका दर्जन बढी स्थानलाई जिल्ला कृषि विकास कार्यालयले तरकारीका लागि पकेट क्षेत्र घोषणा गरेको छ ।

ती क्षेत्रमा तरकारीको उत्पादन निकै बढेको र व्यवस्थित बजारीकरणको लागि किसानहरुले माग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताए ।

‘उत्पादन प्रशस्तै छ अब उत्पादीत तरकारीको बजारसम्मको पहुँच बढाउन आवश्यक भयो’ अधिकृत रोकायले भने । केही बर्ष पहिले भारतको तरकारी आयात हुने जाजरकोटमा अहिले जिल्लाकै उत्पादन फालाफाल भएको छ ।

उत्पादन बृद्धिसंगै जिल्लाबाट तरकारीको निर्यात शुरु भएको छ । चिसोका हावापानीको कारण यहँको तरकारीको माग अन्य ठाउँमा बढेको किसानहरुको भनाई छ ।

नेपालगन्ज, सुर्खेत, छिन्चु सल्लीबजार लगायतका बजारमा जाजरकोटमा उत्पादित तरकारीको माग बढी हुने गरको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले बताए ।

तरकारी खेतीले किसानको जीवन स्तरमा परिवर्तन देखिएको छ । ‘अरु खेती गर्दा खाना लगाउना धौ धौ हुन्थ्यो, अब घर ब्यबहार चलाउन सजिलो भएको छ’ किसान भद्रबहादुर बटालाले भने, ‘तरकारीे खेतीले नयाँ बाटो देखायो छोरा छोरी पढाउन घर खर्च चलाउन कुनै समस्या छैन् ।’

जिल्लामा सडक सुबिधा पुगेपछि किसानले नयाँ बिकल्प खोज्ने क्रम बढको छ ।