काठमाडौँ, ५ चैत । राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा क्षेत्र नम्बर ९ धनगढीले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा धनगढीले क्षेत्र नम्बर ३ काठमाडौँमाथि ८७ रनले विजय हासिल गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
टस जितेर पहिले व्याटिङ्मा उत्रेको धनगढीले निर्धारित ओभरको एक बल बाँकी छँदा (४९ दशमलव ४ ओभर ) २१८ रन जोड्दै अलआउट भएको थियो ।
जवाफी व्याटिङ्मा उत्रेको काठमाडौँ ३३ ओभरमा सवै विकेट गुमाउँदै १३१ रनमा समेटियो । धनगढीको जितमा दिपेन्द्र ऐरीले सर्वाधिक ५१ रनको योगदान दिए भने राजु रिजालले ४७ रन जोडे ।
त्यस्तै, काठमाडौँका लागि रुपेश श्रीवास्तवले २८, रितेश सिंहले २१ र प्रकाश विष्टले २० रन जोड्नु बाहेक अन्य व्याट्स्म्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा धनगढीका ललितसिङ भण्डारी एक्लैले चार विकेट लिए भने दिपेन्द्र ऐरीले दुई विकेट लिए ।
प्रतियोगितामा म्यान अफ द म्याच धनगढीका दिपेन्द्र ऐरी घोषित भए ।
प्रतियोगितामा तीन खेल खेलेको धनगढीले एक खेलमा जित तथा २ खेलमा हार भोगेको छ । यसजितसँगै धनगढीले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ भने चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार भोगेको छ । काठमाडौँको पनि समान दुई अङ्क नै छ । रासस















प्रतिक्रिया